रुपन्देहीमा सुतिरहेकी वृद्धाको हत्या :१५ वर्षीय किशोर पक्राउ
रुपन्देही, १० चैत्र । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा एक ६० वर्षीया महिलाको हत्या अभियोगमा प्रहरीले १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ। लागुऔषध खरिद गर्ने पैसा जुटाउन चोरी गर्ने उद्देश्यले पसलमा छिरेका ती किशोरले वृद्धाको कैँची प्रहार गरी बीभत्स हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ पर्नेमा मृतककै छिमेकी रहेका एक १५ वर्षीय किशोर छन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवका अनुसार, गत चैत २ गते मध्यराति शुद्धोधन गाउँपालिका–१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको आफ्नै पसलमा हत्या भएको थियो।
पसलमा सुतिरहेकी वृद्धाको कोठामा लागुऔषध किन्न पैसाको अभाव भएपछि ती किशोर चोरी गर्ने मनसायले प्रवेश गरेका थिए। सोही क्रममा वृद्धा बिउँझिएर विवाद भएपछि किशोरले आक्रमण गरेको प्रहरीको भनाइ छ।
डिएसपी श्रीवास्तवले भने, “चोरी गर्ने क्रममा विवाद हुँदा किशोरले मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध कैँची प्रहार गरेको बयान दिएका छन्।”
घटनालगत्तै फरार रहेका ती किशोरलाई प्रहरीले गत शनिबार मात्रै नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ परेका उनीमाथि जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी ‘कर्तव्य ज्यान मुद्दा’मा थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ।