चलचित्र ‘तेल भिसा’का निर्माता पक्राउ, भारतमा लुकेर चलाउँथे रेस्टुरेन्ट
काठमाडौं, १० चैत । विदेश पठाइदिने प्रलोभन देखाएर करोडौँ ठगी गरेको आरोपमा हालै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई काठमाडौंको स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
सिन्धुलीको सुनकोशी गाउँपालिका–७ स्थायी घर भएका कार्कीले विगत १० वर्षदेखि काठमाडौंको चाबहिलमा ‘पी एण्ड एम इनोभेसन सर्भिस’ नामको कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए।
प्रहरीका अनुसार, सोही कन्सल्टेन्सीको आवरणमा उनले आकर्षक रोजगारीका लागि युरोपलगायतका देशमा पठाउने भन्दै करिब २५० जना सर्वसाधारणबाट मोटो रकम ठगी गरेका छन्। “हालसम्म १०० जनाभन्दा बढी पीडितहरू न्याय माग्दै प्रहरीको सम्पर्कमा आइसकेका छन्,” अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले जानकारी दिए।
पासाङ नोर्बु तामाङसहितका व्यक्तिहरूले दिएको जाहेरीका आधारमा प्रहरीले कार्कीको खोजी तीव्र पारेको थियो। एसपी भट्टका अनुसार, वैदेशिक रोजगार ठगी प्रकरणमा उनीविरुद्ध यसअघि नै ६ वटा पक्राउ पुर्जी जारी भइसकेको थियो।
नेपालमा ठगीको जालो बुनेर उनी पछिल्लो तीन महिनादेखि भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जमा लुकेर बसेका थिए। त्यहाँ उनले ‘अन्नपूर्ण फास्टफुड’ नामक रेस्टुरेन्ट सञ्चालन गरिरहेको अनुसन्धानबाट खुलेको छ।
सबैभन्दा गम्भीर कुरा त, प्रहरीले उनको साथबाट भारतीय नागरिकले प्रयोग गर्ने ‘आधार कार्ड’ र ‘प्यान कार्ड’ समेत बरामद गरेको छ। यसले उनी भारतमै नक्कली परिचय बनाएर स्थायी रूपमा लुक्ने योजनामा रहेको देखाउँछ।
वैदेशिक रोजगार ठगी मात्र नभई कार्कीमाथि बैंकिङ कसुरको समेत आरोप छ। प्रहरी वृत्त लैनचौरबाट गत असार २५ गते उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा चलेको प्रहरी रेकर्डमा उल्लेख छ।
पक्राउ परेका कार्कीलाई ठगी प्रकरणमा आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।