देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौँ, १५ चैत । शनिबार र आइतबार देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी समाचारकक्षले दिएको जानकारीअनुसार महोत्तरी, गुल्मी, मकवानपुर, सिरहा र चितवनमा भएका दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो ।

महोत्तरीको सोनमा गाउँपालिका–५ खैरबनीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक किशोरको ज्यान गएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ खेस्राहाका १९ वर्षीय रामजीवन साह रहेका छन् ।

यसैगरी, गुल्मीको चन्द्रकोट गाउँपालिका–४ रिपामा जिपको ठक्करबाट स्थानीय ५५ वर्षीया तुलसी थापाको मृत्यु भएको छ । उक्त जिप चन्द्रकोटबाट शान्तिपुरतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । उता, मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित एघारघुम्तीमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको जिपको ठक्करबाट उदयपुरको त्रियुगा नगरपालिका–११ सङ्गमचोकका ८६ वर्षीय गोरे राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको दैनिक समाचार बुलेटिनअनुसार सिरहाको धनगढीमाई नगरपालिका–६ मा पनि मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । मुसर्नियाबाट दहीपुरीतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेकी स्थानीय ७० वर्षीया उर्मिलादेवी महतोको मृत्यु भएको हो ।

त्यस्तै, चितवनको भरतपुर महानगरपालिका–१२ आस्थाचोकमा भएको मोटरसाइकल दुर्घटनामा परी तनहुँको रिसिङ गाउँपालिका–३ का २१ वर्षीय टोनबहादुर आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।