हातखुट्टा बाँधेर श्रीमतीको खुट्टा काट्ने श्रीमान् पक्राउ

पर्सा, १५ चैत । अमानवीय ढङ्गले आफ्नै श्रीमतीको हातखुट्टा बाँधेर धारिलो हतियारले खुट्टा छिनाल्ने एक पुरुषलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३, बिरुवा टोलका ३० वर्षीय विश्वनाथ सहनी रहेका छन् ।

गत चैत १ गते सहनीले आफ्नै पत्नी हरिकलादेवीको हातखुट्टा डोरीले बाँधी धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । हतियारको प्रहारबाट हरिकलादेवीको बायाँ खुट्टाको पैतालाभन्दा माथिको भाग छिनेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार, पत्नीको खुट्टा काटेर अमानवीय कृत्य गरेलगत्तै सहनी फरार भएका थिए । लुकिछिपी बसेको अवस्थामा प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो ।

गम्भीर घाइते भएकी हरिकलादेवीको बारास्थित एलएस न्युरो अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । पक्राउ परेका सहनीमाथि ज्यान मार्ने उद्योगअन्तर्गत म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।