‘हिमालयन चितुवा’ अविरल घिमिरेले जिते ‘के–वान क्रस १८८’ को उपाधि, दोस्रोपटक च्याम्पियन बन्दै रचे इतिहास
काठमाडौँ, १५ चैत । ‘हिमालयन चितुवा’ का नामले विश्वभर परिचित नेपाली किकबक्सर अविरल घिमिरेले प्रतिष्ठित ‘के–वान क्रस १८८ किकबक्सिङ च्याम्पियनसिप’ को उपाधि जितेका छन् । जापानमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि दोस्रोपटक जित्दै उनले नेपाली खेलकुदको इतिहासमा नयाँ कीर्तिमान कायम गरेका हुन् ।
जापानको टोकियोमा शनिबार भएको प्रतिस्पर्धामा अविरलले जापानी खेलाडी रिकुलाई नकआउट गर्दै आफ्नो ‘टाइटल बेल्ट’ को सफलतापूर्वक रक्षा गरेका हुन् । उनका पिता तथा प्रशिक्षक देव घिमिरेका अनुसार, अविरलले खेलको तेस्रो राउन्डको दोस्रो मिनेटमै जापानी प्रतिस्पर्धीलाई रिङमा ढालेर उत्कृष्ट नकआउट जित दर्ता गरेका थिए । ‘के–वान क्रस’ लाई किकबक्सिङको संसारमा निकै प्रतिष्ठित र सर्वोच्च प्रतियोगिता मानिन्छ ।
जापानको नागोयास्थित प्रसिद्ध ‘हिट किकबक्सिङ क्लब’ बाट व्यावसायिक खेल खेल्दै आएका अविरलको यो सफलता नेपाली मार्सल आर्ट्सका लागि ठूलो उपलब्धि हो । यसअघि उनले ‘के–वान क्रस १७५’ को उपाधि पनि जितेका थिए । त्यस्तै, उनले इन्टरनेसनल स्पोर्ट कराते एसोसिएसन (इस्का) को उपाधि जित्नुका साथै लगातार तीनपटक ‘हिट किकबक्सिङ’ को टाइटल डिफेन्स (उपाधि रक्षा) समेत गरिसकेका छन् ।
अन्तर्राष्ट्रिय रिङमा अविरलको प्रदर्शन निकै आक्रामक र लोभलाग्दो रहँदै आएको छ । हालसम्म खेलेका २५ वटा अन्तर्राष्ट्रिय भिडन्तमध्ये उनले १९ वटामा जित हात पारेका छन् । जसमध्ये १८ वटा खेलमा त उनले विपक्षीलाई नकआउट नै गरेका छन् । यस्तो उच्चस्तरको अन्तर्राष्ट्रिय सफलता हासिल गर्ने र लगातार नकआउटको कीर्तिमान बनाउने अविरल पहिलो नेपाली किकबक्सर हुन् ।=