इरानले चाँडै सम्झौता नगरे ऊर्जा केन्द्र र तेलखानी ध्वस्त पार्ने ट्रम्पको चेतावनी
एजेन्सी, १७ चैत्र । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चाँडै कुनै सम्झौता नभए त्यहाँका विद्युत् उत्पादन केन्द्र र तेलखानीलगायतका महत्त्वपूर्ण संरचना पूर्ण रूपमा ध्वस्त पारिदिने चेतावनी दिनुभएको छ ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानको नयाँ सत्तासँग सैन्य कारबाही अन्त्य गर्ने विषयमा गम्भीर छलफल गरिरहेको दाबी गर्नुभएको छ । उहाँले वार्तामा निकै प्रगति भएको र सम्झौताको सम्भावना रहेको समेत उल्लेख गर्नुभएको छ ।
“यदि कुनै कारणले चाँडै सम्झौता हुन सकेन र व्यापारका लागि तत्काल होर्मुज जलमार्ग खोलिएन भने हामीले सदाशयताका साथ अहिलेसम्म नछोएका इरानका सबै विद्युत् उत्पादन केन्द्र, तेलखानी, खार्ग टापु र सम्भवतः पानी प्रशोधन केन्द्रहरूसमेत पूर्ण रूपमा ध्वस्त पारिदिनेछौँ,” ट्रम्पले चेतावनी दिनुभएको छ ।
यसैबीच, इरान, लेबनान र इजरायलमा निरन्तर आक्रमणका घटनाहरू भइरहेका छन् । युद्धका कारण होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) मा पानीजहाजको आवतजावत युद्धपूर्वको तुलनामा निकै घटेको छ । यी तनावपूर्ण घटनाक्रमका कारण मङ्गलबार एसियाली बजारमा तेलको मूल्यमा वृद्धि भएको छ । अमेरिकी बजारमा तेलको मूल्य तीन प्रतिशतले बढेर प्रतिब्यारेल करिब १०६ अमेरिकी डलर पुगेको जनाइएको छ ।