अध्यक्ष ओली पक्राउको विरोधमा एमालेद्वारा देशव्यापी आन्दोलन घोषणा
काठमाडौँ, १७ चैत । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण र बदलाप्रेरित’ ठहर गर्दै आन्दोलनका थप कार्यक्रम तय गरेको हो ।
बैठकपछि एमालेका महासचिव शङ्कर पोखरेलले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले प्रहरीमार्फत दमन गरेको आरोप लगाउँदै थप सङ्घर्षका कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।
घोषित कार्यक्रमअनुसार, एमालेले आगामी चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला गर्ने र चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्नेछ । यसैगरी, वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते सबै प्रदेशका राजधानीमा प्रदर्शन र वैशाख १२ गते सङ्घीय राजधानी काठमाडौँमा विशाल विरोध प्रदर्शन गर्ने निर्णय भएको छ ।
आन्दोलनलाई प्रभावकारी बनाउन पार्टीका सबै जनसङ्गठनले आ–आफ्नो तर्फबाट थप कार्यक्रम सञ्चालन गर्नेछन् । सरकारले विद्यार्थी तथा पेसागत सङ्गठनमाथि गरेका गतिविधिलाई समेत समेटेर सङ्घर्ष गर्न भोलि बिहान ११ बजे जनसङ्गठन संयन्त्रको बैठक आह्वान गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
त्यस्तै, आन्दोलनका सन्दर्भमा सर्वपक्षीय नागरिक संवादका लागि पार्टीले उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी तोकेको छ ।
संसद्भित्र अन्य दलहरूसँग सहकार्य गर्न र पार्टीको प्रस्तुतिलाई प्रभावकारी बनाउन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई जिम्मेवारी दिइएको छ । सोही विषयमा छलफल गर्न भोलि दिउँसो ३ बजे संसदीय दलको बैठकसमेत बस्ने तय भएको छ ।
महासचिव पोखरेलका अनुसार, आन्दोलनका थप रणनीति र कार्यक्रम तय गर्न तत्कालै पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णयसमेत सचिवालय बैठकले गरेको छ ।