ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा : सङ्क्रमितको सङ्ख्या १३ पुग्यो, छिमेकी पालिकामा पनि देखियो असर

बागलुङ, १८ चैत । बागलुङको ढोरपाटन नगरपालिकामा गत फागुनदेखि फैलिएको दादुरा सङ्क्रमण अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । स्वास्थ्यकर्मीहरूको निरन्तरको प्रयास र खोप अभियानका बाबजुद सङ्क्रमणको जोखिम कायम रहेको पाइएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार हालसम्म १३ जनामा दादुराको सङ्क्रमण पुष्टि भइसकेको छ भने शङ्कास्पद बिरामीको सङ्ख्या २०५ पुगेको छ । ढोरपाटन–७, ८ र ९ मा केन्द्रित रहेको यो सङ्क्रमण अहिले छिमेकी तमानखोला गाउँपालिकामा समेत देखिएपछि स्वास्थ्य अधिकारीहरू थप चिन्तित बनेका छन् ।

सङ्क्रमण नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (WHO) र प्रदेश जनस्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा ढोरपाटनका नौवटै वडामा विशेष खोप अभियान सञ्चालन गरिएको थियो । प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीका अनुसार १० देखि १९ वर्ष उमेर समूहका ५ हजार ९३४ जना बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाइसकिएको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले खोपपछि दैनिक सङ्क्रमित हुने दरमा केही कमी आए पनि सङ्क्रमण पूर्णतः अन्त्य नभएको जानकारी दिनुभयो । “दादुराको लक्षण देखिएका ३३ जनाको नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ,” शर्माले भन्नुभयो, “तमानखोलामा पनि शङ्कास्पद बिरामी भेटिएकाले अब पश्चिम बागलुङका चारवटै पालिकामा खोप अभियान विस्तार गर्ने योजना बनाएका छौँ ।”

हाल दादुराबाट गम्भीर भएका चारजना बिरामीको अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यकर्मीहरूको टोलीले प्रभावित क्षेत्रमा पुगेर बिरामीको खोजी र उपचारसँगै जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेका छन् ।
बालबालिकामा देखिने यो सरुवा रोगको प्रकोप नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले अभिभावकहरूलाई आफ्ना बालबालिकामा ज्वरो आउने र शरीरमा राता डाबर देखिने जस्ता लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ । सङ्क्रमण थप फैलिन नदिन उच्च सतर्कता अपनाइएको प्रशासनले जनाएको छ ।