एमाले संसदीय दलको नेतामा सांसद सुहाङ नेम्वाङको औपचारिक दाबी

ललितपुर, १८ चैत । नेकपा (एमाले) का युवा सांसद सुहाङ नेम्वाङले पार्टीको संसदीय दलको नेतामा औपचारिक रूपमा दाबी प्रस्तुत गर्नुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी संसदीय दलको बैठकमा सांसद नेम्वाङले वर्तमान जनभावना र आवश्यकतालाई मध्यनजर गर्दै सो पदमा आफ्नो इच्छा व्यक्त गर्नुभएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

बैठकमा आफ्नो धारणा राख्दै सांसद नेम्वाङले पार्टीको विधि, पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै आफू नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताउनुभयो । देशमा उत्पन्न वर्तमान परिस्थिति तथा सदन र सदन बाहिरको अवस्थालाई नजरअन्दाज गर्न नहुनेमा उहाँले जोड दिनुभयो । साथै, उहाँले पार्टीले अवलम्बन गर्दै आएको प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने नीति र लोकतान्त्रिक अभ्यासलाई अघि बढाउन नेतृत्वको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।

नेता रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा जारी उक्त बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेललगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको जनाइएको छ । संसदीय दलको नेता चयनका विषयमा बैठकमा थप छलफल भइरहेको छ ।