राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी लिला भण्डारीलाई अघि बढाउने सहमति
काठमाडौं, २२ चैत । राजनीतिक दलहरूबीचको सहमतिअनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (एमाले) की सांसद लिला भण्डारीलाई अघि बढाउने निर्णय भएको छ ।
संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूबीच भएको प्याकेज सहमतिअनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेले पाउने तय भएपछि भण्डारीलाई उक्त पदमा अघि सार्ने निर्णय भएको हो । हाल राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल रहेका छन् । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।
राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता प्रेम दङ्गालका अनुसार दलहरूबीच उपाध्यक्ष र विषयगत समितिका सभापतिहरू बाँडफाँट गर्ने सहमति भएको छ । जसअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुईवटा समितिको सभापति पाउनेछ भने एमालेको भागमा उपाध्यक्ष परेको छ ।
यसैगरी, नेकपा र जनता समाजवादी पार्टी (जसपा) ले पनि राष्ट्रिय सभा अन्तर्गतका एक–एकवटा समितिको सभापति पाउने सहमति जुटेको नेता दङ्गालले जानकारी दिए ।