सङ्घीय संसद्का दुवै सदनको बैठक आज: तीन अध्यादेश अनुमोदन र राष्ट्रियसभा उपाध्यक्ष चयन मुख्य कार्यसूची

काठमाडौँ, २३ चैत । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (सोमबार) बस्दैछ। संसद्को पहिलो अधिवेशन प्रारम्भ भएपछि बस्न लागेको आजको बैठकमा महत्वपूर्ण अध्यादेशहरूको अनुमोदन र नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको बैठक दिउँसो १:०० बजेका लागि आह्वान गरिएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा सरकारका तर्फबाट तीनवटा अध्यादेशहरू स्वीकृतिका लागि पेस गरिनेछ।

यता, राष्ट्रियसभाको बैठक भने अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने तय भएको छ। आजको बैठकमा राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। बैठकमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले ‘लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुनेछ।

यसैगरी, सोही बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ को ‘२४औँ वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यक्रम समेत तय गरिएको सचिवालयले जनाएको छ।