मुस्ताङमा बढ्दै हिमचितुवाको आतङ्क : खोरमै पसेर मार्यो २१ भेडाच्याङ्ग्रा

मुस्ताङ, २३ चैत्र । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा हिमचितुवाको आतङ्क बढ्दै गएको छ । खोरमै पसेर हिमचितुवाले आक्रमण गर्दा एकै रातमा २१ वटा भेडाच्याङ्ग्रा मारिएका छन् भने अन्य सातवटा घाइते भएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार, लोमान्थाङ–४ चुमजुङस्थित स्थानीय पशुपालक किसान घ्याचो गुरुङको खोरमा शनिबार राति हिमचितुवा पसेको थियो । एक्याप प्रमुख उमेश पौडेलले दिएको जानकारीअनुसार आक्रमणबाट १० वटा च्याङ्ग्रा र ११ वटा भेडा मरेका छन् ।

ग्याबिन तारले सुरक्षित गरिएको भनिएको उक्त खोरमा जम्मा ३१५ वटा भेडाच्याङ्ग्रा राखिएका थिए । घटनाको प्रारम्भिक मूल्याङ्कनअनुसार किसान गुरुङको करिब ४ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

घटनाको जानकारी पाएलगत्तै आइतबार बिहान एक्यापका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र गाउँपालिकाका पशु प्राविधिकसहितको टोली घटनास्थल पुगेर क्षतिको विवरण सङ्कलन गरेको थियो ।

पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा हिमचितुवा र मानवबीचको द्वन्द्व बढ्दो क्रममा छ । हिमचितुवाले गोठमै पसेर वा उच्च लेकको चरन क्षेत्रमा पशुचौपायामाथि आक्रमण गर्ने क्रम बढेपछि पशुपालक किसानहरू चिन्तित बनेका छन् । लगातारको क्षतिले आफ्नो पुर्ख्यौली पेसा नै सङ्कटमा परेको पीडित किसान मिङमर गुरुङले गुनासो गरे ।

यसअघि गत फागुन ११ गते लोमान्थाङ–४ किम्लिङमै मिङमर गुरुङको खोरमा आक्रमण गर्दा नौवटा च्याङ्ग्रा मरेका थिए भने नौवटा घाइते भएका थिए । त्यस्तै, तल्लो मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा स्थानीय सन्तोष परियारको खोरमा दुई पटकसम्म आक्रमण गरी चितुवाले तीन दर्जनभन्दा बढी च्याङ्ग्रा मारेको थियो ।

विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा घाँसको अभाव हुन थालेपछि हिमचितुवाका आहारा प्रजाति (नाउर, झारल आदि) बेँसीतर्फ झर्ने गरेका छन् । तिनै आहारालाई पछ्याउँदै हिमचितुवा बस्ती र मुख्य राजमार्ग नजिकैसम्म आउन थालेको पाइएको छ ।

हिमचितुवाको गतिविधि निगरानी गर्न एक्यापले पछिल्लो पटक आक्रमण भएको क्षेत्रमा तीनवटा सिसीक्यामेरा जडान गरेको छ । यसका साथै, चालु आर्थिक वर्षमा मुस्ताङका पाँचवटै पालिकाका सम्भावित बासस्थानमा हिमचितुवा गणना र अनुगमनका लागि सिसीक्यामेरा जडान भइरहेको एक्यापले जनाएको छ ।

वन्यजन्तुको आक्रमणबाट क्षति व्यहोरेका किसानलाई राहत उपलब्ध गराउने व्यवस्था पनि रहेको छ । वन्यजन्तु क्षति राहत निर्देशिकाबमोजिम क्षतिको मूल्याङ्कन गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमार्फत राहत दिइन्छ । तर, सरकारी प्रक्रियाबाट राहत आउन ढिलाइ हुने अवस्थामा एक्यापले आफ्नो आन्तरिक कोषबाटै व्यवस्था गरेर भए पनि पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउँदै आएको एक्याप प्रमुख पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *