सर्वदलीय बैठकमा एमालेको चेतावनी : सरकारले ‘विघ्नबाधा’ खडा गरे प्रतिवाद गर्छौं

काठमाडौं, २३ चैत । नेकपा एमालेले विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै त्यसमा सरकारले कुनै ‘विघ्नबाधा’ खडा गरे कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

संघीय संसद सचिवालयले आज (सोमबार) आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी हुँदै एमालेले सरकारलाई यस्तो खबरदारी गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता गुरु बरालले कानुनको परिपालना र प्रबलीकरणमा आफ्नो पार्टीले सधैं साथ दिने स्पष्ट पारे। “विधिको शासनभित्र कानुन परिपालनाको विषयमा हाम्रो कुनै विवाद छैन, यसलाई प्रबलीकरण गर्ने काममा हामी लाग्छौं,” नेता बरालले भने, “तर, जहाँ कानुनको उल्लंघन हुन्छ र विधिको शासनमाथि प्रश्न उठ्छ, त्यहाँ हामी आफ्नो आवाज बुलन्द गर्नेछौं।”

संविधानप्रदत्त नागरिकका मौलिक अधिकार, राजनीतिक अधिकार र समानताको हकसँग सम्बन्धित अधिकारहरूको निर्वाध र सही प्रयोग हुनुपर्नेमा उनले जोड दिए। सरकारको कामकारबाहीप्रति सचेत गराउँदै उनले थपे, “यस विषयमा सरकारले कुनै पनि ढंगले विघ्नबाधा नल्याओस्। यदि सरकारले बाधा व्यवधान खडा गर्न खोजे हामी कडा प्रतिवाद गर्नेछौं।”