कालीगण्डकीको धारै परिवर्तन गरेर चरम दोहन : मापदण्डविपरीत सात मिटरसम्म खनेर निकालियो बालुवा–ढुङ्गा
बागलुङ, २३ चैत । प्राकृतिक रूपमा बगिरहेको कालीगण्डकी नदीको धार नै परिवर्तन गरेर बागलुङमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) को चरम दोहन भइरहेको पाइएको छ। बागलुङ नगरपालिकाभित्र पर्ने बगरहरूमा हिउँदको समयमा नदीलाई पर्वततर्फ फर्काएर मापदण्डविपरीत उत्खनन गरिएको हो।
विशेषगरी बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगर र वडा नम्बर १० को गलुवा बगरमा पानीको बहाव कम भएको मौका छोपी नदीको प्राकृतिक संरचना नै बिग्रिने गरी दोहन गरिएको छ। तस्करहरूले बर्खायाममा मध्यरातको समयमा मेसिन लगाउने र हिउँदमा नदीको धार नै परिवर्तन गर्ने गरेको स्थानीय सरोकारवालाहरूले बताएका छन्।
वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अनुसार बढीमा दुई मिटरसम्मको गहिराइबाट मात्र नदीजन्य पदार्थ निकाल्न अनुमति दिइएको थियो। तर, अनुगमनका क्रममा ठेकेदारले ठूला हेभी उपकरण (स्काभेटर) को प्रयोग गरी सातदेखि आठ मिटरसम्म गहिरो खाल्डो बनाएर उत्खनन गरेको पाइएको छ।
कालाखोला बगरमा २५० मिटरभन्दा बढी लम्बाइ र ५० मिटरभन्दा बढी चौडाइ क्षेत्रमा अवैध रूपमा उत्खनन गरिएको छ। मापदण्डअनुसार उत्खननमा ३० प्रतिशत मानव जनशक्ति प्रयोग गर्नुपर्ने व्यवस्था भए पनि शतप्रतिशत ठूला उपकरणको मात्र प्रयोग गरिएको छ।
नदी दोहनबारे चौतर्फी गुनासो आएपछि जिल्ला समन्वय समिति (जिसस) बागलुङको नेतृत्वमा अनुगमन गरिएको थियो। अनुगमनमा मापदण्डविपरीत काम भएको पुष्टि भएपछि जिसस प्रमुख अमरबहादुर थापाले कारबाहीका लागि बागलुङ नगरपालिकालाई निर्देशन दिएका छन्।
“नगरपालिकाले राजस्व उठाउन बगर ठेक्कामा त लगायो, तर सम्झौता र दिइएको मापदण्डविपरीत चरम दोहन भएको पाइएको छ,” प्रमुख थापाले भने, “नदीको प्राकृतिक संरचना नै फेरबदल हुने गरी मेसिन प्रयोग भएको छ। प्राविधिकको प्रतिवेदनका आधारमा अनुमतिभन्दा बढी दोहन गर्नेलाई कारबाही गर्न हामीले नगरपालिकालाई भनिसकेका छौँ।” दोहन रोक्न सबै निकायबीच समन्वय आवश्यक रहेको उनले औंल्याए।
बागलुङ नगरपालिकाले कालाखोला, भाटेखोला र गलुवा बगर ठेक्कामा लगाए पनि प्रभावकारी नियमन नगर्दा ठेकेदारको मनोमानी बढेको हो। यसरी भइरहेको अनियन्त्रित र अवैध दोहनका कारण बागलुङ र पर्वत दुवै जिल्लातर्फ भूक्षय तथा बाढी–पहिरोको जोखिम उच्च बनेको छ भने नदी किनारका बस्तीहरू सङ्कटमा पर्न थालेका छन्।