ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको आदेश: बन्दीप्रत्यक्षीकरण रिट खारेज (परमादेशसहित)

काठमाडौँ, २३ चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार उनीहरूलाई पछिल्लो पटक थपिएको म्याद सकिएपछि रिहा गर्न आदेश दिएको हो।

अदालतको यो आदेशसँगै ओली र लेखक आगामी चैत २६ गते हिरासतमुक्त हुनेछन्। सर्वोच्चले उनीहरूका तर्फबाट दर्ता गरिएको बन्दीप्रत्यक्षीकरण रिट भने खारेज गरिदिएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन र सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले उनीहरूलाई गत चैत १४ गते पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतले आइतबार मात्रै उनीहरूलाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमै राख्न अनुमति दिएको थियो।

जिल्ला अदालतबाट म्याद थप भएलगत्तै उनीहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको थियो। सोमबार सोही रिटमाथिको सुनुवाइ र बहस सकिएपछि सर्वोच्चले अब उपरान्त म्याद थप नगर्न र हालको अवधि सकिएपछि रिहा गर्न परमादेश जारी गरेको हो।