रुपन्देहीमा प्रहरीद्वारा गोली प्रहार: ३३ सय एम्पुल लागुऔषधसहित तीन जना पक्राउ

रुपन्देही, २४ चैत । रुपन्देहीको रोहिणी गाउँपालिकामा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक जना कारोबारी घाइते भएका छन् । प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषधको अवैध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । सो क्रममा यूपी ५६ एफ ९९०१ नम्बरको भारतीय मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोज्दा उनीहरूले अटेर गरी भाग्न खोजेपछि प्रहरीले पछ्याएको थियो ।

भाग्ने क्रममा मोटरसाइकलबाट लडेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुङ्गा प्रहार गरी आक्रमण गरेका थिए । स्थिति नियन्त्रणमा लिन र आत्मरक्षाका लागि प्रहरीले सुरुमा एक राउन्ड हवाई फायर गरेको र त्यसपछि थप दुई राउन्ड गोली चलाएको डीएसपी चन्दले जानकारी दिनुभयो ।

प्रहरीले चलाएको गोली लागेर रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव घाइते भएका छन् । उनको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ । घाइते यादवको हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यादवसँगै मोटरसाइकलमा सवार भारतको महाराजगञ्ज जिल्ला, पर्सामलिक ग्राम निवासी १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट प्रहरीले ३ हजार ३ सय एम्पुल प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । जसमा फेनारगन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल रहेका छन् ।

पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी बढेपछि प्रहरीले निगरानी र सक्रियता तीव्र पारेको छ ।