‘इरानलाई एकै रातमा सखाप पार्न सक्छौं’ : ट्रम्पको कडा चेतावनी, युद्ध टार्न मध्यस्थकर्ताको अन्तिम प्रयास
एजेन्सी, २४ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकै रातमा सखाप पार्न सक्ने कडा चेतावनी दिएका छन्। ‘स्ट्रेट अफ हर्मुज’ खोल्न दिएको समयसीमा सकिनै लाग्दा ट्रम्पले इरानका सम्पूर्ण भौतिक पूर्वाधार ध्वस्त पार्ने धम्की दिएका हुन्।
मंगलबारसम्मको अल्टिमेटम दिएका ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भने, “पूरै देशलाई एकै रातमा सखाप पार्न सकिन्छ। र, त्यो रात भोलि नै हुन सक्छ।”
उनले अमेरिकासँग इरानका प्रत्येक पुल र ऊर्जा केन्द्र (पावर प्लान्ट) ध्वस्त पार्ने योजना रहेको दाबी गरे। “केही घण्टाभित्रै इरानका हरेक पावर प्लान्टहरू काम नलाग्ने हुनेछन्, जल्नेछन्, विस्फोट हुनेछन् र फेरि कहिल्यै प्रयोगमा आउने छैनन्,” ट्रम्पले चेतावनी दिए।
यति मात्र होइन, युद्ध भएमा अमेरिकाले इरानको तेल खानीमाथि नियन्त्रण कायम गर्ने घोषणा समेत ट्रम्पले गरेका छन्। उनले ‘विजेताकै हातमा लुटको धन हुन्छ’ भन्दै इरानी तेल कब्जा गर्ने मनसाय व्यक्त गरे।
ट्रम्पको अल्टिमेटम सकिनुअघि युद्ध टार्न मध्यस्थकर्ताहरूले अन्तिम प्रयास गरिरहेका छन्। तर, यो प्रयास सफल हुने सम्भावना भने क्षीण बन्दै गएको विश्लेषण गरिएको छ।
अवस्थालाई नियन्त्रणमा लिन पाकिस्तान, इजिप्ट र टर्कीले ४५ दिने युद्धविराम गराउन कूटनीतिक पहल गरिरहेका छन्। साथै, ट्रम्पका विशेष दूत स्टिभ विटकफ र इरानका विदेशमन्त्री अब्बास अराक्चीबीच ‘टेक्स्ट मेसेज’मार्फत कुराकानी भइरहेको जनाइएको छ।