ट्रम्पको धम्कीपछि इरानको कडा जवाफ: ‘तेल र ग्यास आपूर्ति वर्षौंसम्म ठप्प पारिदिने’ चेतावनी
एजेन्सी, २४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘सभ्यता नै ध्वस्त पारिदिने’ भनी दिएको धम्कीपूर्ण बयानपछि इरानले कडा प्रत्याक्रमणको चेतावनी दिएको छ । इरानको शक्तिशाली सैन्य दस्ता ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर’ (आईआरजीसी) ले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले आफ्नो सीमा नाघेमा विश्वव्यापी तेल र ग्यास आपूर्ति शृङ्खला वर्षौंसम्म अवरुद्ध पारिदिने चेतावनी दिएको हो ।
राष्ट्रपति ट्रम्पले ‘आज राति एउटा सभ्यता ध्वस्त हुनेछ’ भन्ने अभिव्यक्ति दिएलगत्तै इरानको यस्तो कडा प्रतिक्रिया आएको हो । आईआरजीसीले सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको संयुक्त वक्तव्यमा अमेरिका र उसका क्षेत्रीय सहयोगीहरूविरुद्ध अहिलेसम्म निकै संयम अपनाएको भए पनि अब बदला लिनका लागि लक्ष्यहरू छनोट गरिसकेको उल्लेख छ ।
इरानी सैन्य नेतृत्वले अमेरिकी सेनाले थप उत्तेजक कदम चालेमा त्यसको प्रतिक्रिया मध्यपूर्वको क्षेत्रीय सीमाभन्दा बाहिरसम्म पुग्ने स्पष्ट पारेको छ । “हामी अमेरिका र उसका सहयोगीहरूको पूर्वाधारलाई निशाना बनाउन सक्षम छौँ, जसले गर्दा विश्व बजारमा तेल र ग्यासको आपूर्ति वर्षौंसम्म ठप्प हुन सक्छ,” आईआरजीसीको विज्ञप्तिमा भनिएको छ ।
यसअघि नै अमेरिकाले इरानका रणनीतिक महत्वका स्थलहरू जस्तै खार्ग टापु, प्रमुख पुलहरू र विद्युत् ऊर्जा केन्द्रहरूमा लक्षित आक्रमण गरिसकेको छ ।
सैन्य क्षेत्रका अतिरिक्त कूटनीतिक तहमा समेत इरानले ट्रम्पको धम्कीको कडा शब्दमा निन्दा गरेको छ । दक्षिण अफ्रिकास्थित इरानी दूतावासले ट्रम्पको बयानलाई उत्तेजक भन्दै अमेरिका र उसका सहयोगीहरूले इरानी सभ्यताबाट ‘कहिल्यै नबिर्सिने जवाफ’ पाउने दाबी गरेको छ ।
ट्रम्पको पछिल्लो अभिव्यक्ति र इरानको कडा प्रतिवादले मध्यपूर्वमा जारी युद्ध झनै भयावह बन्ने र विश्व ऊर्जा बजारमा गम्भीर सङ्कट आउन सक्ने देखिएको छ । दुवै पक्षको कडा अडानले गर्दा अन्तर्राष्ट्रिय समुदायमा सुरक्षा चिन्ता थप चुलिएको छ ।