सिंहदरबार प्रवेशमा कडाइ : कानुन व्यवसायीलाई पनि अब ‘गेट पास’ अनिवार्य
काठमाडौं, २५ चैत । नेपाल बार एसोसिएसनको परिचयपत्र देखाएर निर्वाध रूपमा सिंहदरबार प्रवेश गर्दै आएका कानुन व्यवसायीहरूलाई अब छुट्टै ‘गेट पास’ लिनुपर्ने नियम लागू गरिएको छ ।
यसअघि कानुन व्यवसायीको परिचयपत्रकै आधारमा सिंहदरबार प्रवेश गर्न पाइने व्यवस्थालाई सरकारले रोक लगाएको हो । अब कानुन व्यवसायीले सिंहदरबारभित्रका विभिन्न निकाय वा अदालत जानुपरेमा नागरिक एपमार्फत वा सम्बन्धित निकायको समन्वयमा पास लिनुपर्नेछ ।
सिंहदरबारभित्र प्रशासकीय अदालत रहेको छ, जहाँ कानुन व्यवसायीहरू वकालतका लागि दैनिक पुग्ने गर्छन् । अदालतका रजिस्ट्रार सरोजराज रेग्मीले मंगलबार एक सूचना जारी गर्दै कानुन व्यवसायीले नागरिक एपमार्फत सिंहदरबार गेट पास लिनुपर्ने नयाँ व्यवस्था लागू भएको जानकारी गराएका छन् । अन्य मन्त्रालय वा निकायमा काम भए सम्बन्धित ठाउँमै समन्वय गर्न भनिएको छ ।
बारको आपत्ति, प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने
नेपाल बार एसोसिएसनका महासचिव एवं प्रवक्ता केदार कोइरालाले आइतबारदेखि नै सरकारले कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा रोक लगाएको भन्दै असन्तुष्टि जनाएका छन् । बहुदल आएपछि तत्कालीन एमाले नेता तथा बारका पूर्वमहासचिव स्वर्गीय सुवासचन्द्र नेम्वाङको पालादेखि सुरु भएको यो सहज व्यवस्थालाई अहिलेको सरकारले रोकेको उनको भनाइ छ ।
“हामीले यो विषयमा कानुनमन्त्री, कानुन सचिव, गृह सचिव र महान्यायाधिवक्तालगायत सबैको ध्यानाकर्षण गराइसकेका छौं । छिट्टै प्रधानमन्त्री बालेन शाहको पनि ध्यानाकर्षण गराउँछौं,” महासचिव कोइरालाले भने, “कानुन व्यवसायीहरू प्रशासकीय अदालत मात्रै जाँदैनन् । गृह मन्त्रालयमा पुनरावेदनको काम हुन्छ, कानुन मन्त्रालय र संसद् भवनसमेत जानुपर्ने हुन्छ । त्यसैले पुरानै व्यवस्थापनका लागि हामी सहजीकरणको प्रयास गरिरहेका छौं ।”