अन्तिम प्रहरमा टर्यो अमेरिका-इरान महायुद्ध : लेबनानमा भने आक्रमण नरोकिने
एजेन्सी, २५ चैत्र । अमेरिका र इरानबीचको सम्भावित महायुद्ध अन्तिम क्षणमा आएर टरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि विनाशकारी आक्रमण गर्न दिएको समयसीमा सकिनु मात्र एक घण्टाअघि दुई देशबीच १४ दिने (दुई हप्ते) अस्थायी युद्धविरामको सहमति जुटेको हो ।
यस सहमतिलाई इजरायलले समर्थन जनाएको छ । यद्यपि, लेबनानको हकमा भने यो युद्धविराम लागू नहुने इजरायलले स्पष्ट पारेसँगै मध्यपूर्वको तनाव तत्कालै नघट्ने सङ्केत देखिएको छ ।
मङ्गलबार राति वासिङ्टन र तेहरानबीच भएको यस नाटकीय समझदारीअनुसार, इरानले आगामी दुई हप्तासम्म होर्मुज जलडमरूमध्यलाई अन्तर्राष्ट्रिय समुद्री यातायातका लागि पूर्ण रूपमा सुरक्षित र खुला राख्ने प्रतिबद्धता जनाएको छ । यही दुई हप्ते शान्ति अवधिलाई सदुपयोग गर्दै दुई देशबीच शान्ति वार्ता अघि बढाइनेछ । जसका लागि आगामी शुक्रबारदेखि पाकिस्तानमा औपचारिक संवाद सुरु हुने तय भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्पको निर्णयलाई स्वागत गरेको छ । इजरायलले इरानलाई तत्काल जलमार्ग खोल्न तथा अमेरिका, इजरायल र यस क्षेत्रका अन्य राष्ट्रहरूमाथिका सम्पूर्ण आक्रमण रोक्न चेतावनीसमेत दिएको छ । साथै, इरानको आणविक कार्यक्रम, क्षेप्यास्त्र परीक्षण र आतङ्कवादलाई बढावा दिने गतिविधि रोक्न अमेरिकाले चाल्ने हरेक कदममा आफ्नो पूर्ण साथ रहने इजरायलले प्रस्ट पारेको छ ।
यसैबीच, इजरायलले लेबनानमा जारी सैन्य कारबाही भने नरोकिने उद्घोष गरेको छ । यसअघि पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले लेबनानसहित समग्र क्षेत्रमै युद्धविराम लागू हुने अभिव्यक्ति दिनुभएको थियो । तर, इजरायलको पछिल्लो भनाइले पाकिस्तानी प्रधानमन्त्रीको उक्त सङ्केतलाई ठाडै अस्वीकार गरिदिएको छ ।
इरान समर्थित हिज्बुल्लाह समूहले इजरायलमाथि रकेट प्रहार गरेपछि लेबनान प्रत्यक्ष रूपमा यस युद्धमा तानिएको हो । त्यसयता इजरायलले लेबनानभरि गरेको भीषण हवाई तथा स्थलगत सैन्य कारबाहीमा परी १५ सयभन्दा बढी मानिसको ज्यान गइसकेको लेबनानी अधिकारीहरूले जनाएका छन् ।
स्मरण रहोस्, इजरायलले सुरुदेखि नै इरानविरुद्धको युद्धमा अमेरिकालाई प्रत्यक्ष रूपमा तान्न खोजिरहेको थियो । गत फेब्रुअरीमा सुरु भएको प्रारम्भिक आक्रमणकै क्रममा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनी मारिएको विवरण यसअघि नै सार्वजनिक भइसकेको छ ।
अमेरिका र इरानबीचको यस दुई हप्ते युद्धविरामले मध्यपूर्वमा तत्कालका लागि ठूलो युद्धको खतरा टारेको भए पनि लेबनानमाथिको निरन्तर आक्रमण र गहिरो क्षेत्रीय अविश्वासका कारण दिगो शान्तिको सम्भावना भने अझै अनिश्चित नै छ ।