सरकारद्वारा सार्वजनिक यातायातको भाडामा भारी वृद्धि : यात्रुवाहकमा १६.७१ र मालवाहकमा २१ प्रतिशतसम्म बढ्यो

काठमाडौं, २५ चैत्र । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । इन्धनको मूल्यमा आएको उतारचढाव र यातायात सञ्चालनका अन्य सूचकहरूलाई मुख्य आधार मान्दै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो ।

नयाँ निर्णयअनुसार यात्रुवाहक सवारीसाधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । त्यसैगरी, मालवाहक सवारीसाधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने गाडीको भाडा २१.६८ प्रतिशत र तराईका बाटोमा चल्ने गाडीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।

यातायात व्यवस्था विभागले इन्धनको मूल्यवृद्धिलाई मुख्य कारण देखाउँदै भाडा समायोजनको प्रस्ताव मन्त्रालयमा पठाएको थियो । उक्त प्रस्तावलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले सदर गरेसँगै भाडा बढाउने बाटो खुलेको हो ।

मन्त्रीस्तरबाट निर्णय सदर भएर अनुमति प्राप्त भइसकेकाले अब यातायात व्यवस्था विभागले छिट्टै औपचारिक सूचना जारी गरी नयाँ भाडादर सार्वजनिक गर्ने तयारी गरेको छ ।

सरकारको यस निर्णयसँगै अब सर्वसाधारण यात्रु तथा व्यवसायीले सार्वजनिक यात्रा र सामान ढुवानी गर्दा बढेको नयाँ दरअनुसार नै महँगो शुल्क तिर्नुपर्नेछ । यसले बजारमा उपभोग्य वस्तुको मूल्यसमेत बढाउन सक्ने अनुमान गरिएको छ ।