हङकङको प्रलोभन देखाएर कम्बोडिया पुर्याउने र नाबालिगलाई वेश्यावृत्तिमा लगाउने ४ जना पक्राउ
काठमाडौं, २५ चैत्र । आकर्षक रोजगारीका लागि हङकङ पठाइदिने प्रलोभन देखाएर कम्बोडिया पुर्याउने तथा नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाउने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–१२ की ३० वर्षीया बास्नामाया योञ्जन, काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ (नैकाप) का २३ वर्षीय आयुष केसी, दोलखाको भीमेश्वर नगरपालिका–४ की सुष्मा तामाङ र धादिङको थाक्रे गाउँपालिका–७ का ४२ वर्षीय हरिशम्शेर रायमाझी रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरूले सङ्गठित रूपमै मानव बेचबिखन तथा ओसारपसारको धन्दा चलाउँदै आएका थिए । उनीहरूले विभिन्न प्रलोभनमा पारेर नाबालिग किशोरीहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यसका साथै, उक्त गिरोहले वैदेशिक रोजगारीको खोजीमा रहेका व्यक्तिहरूलाई हङकङमा ‘वेटर’ (बेयरा) को काम लगाइदिने र आकर्षक तलब हुने भन्दै प्रलोभनमा पार्ने गरेका थिए । तर, हङकङको आश देखाएर उनीहरूले पीडितहरूलाई झुक्याएर कम्बोडिया पुर्याई अलपत्र पार्ने र बेचबिखन गर्ने गरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनामाथि मानव बेचबिखन तथा ओसारपसार कसुरअन्तर्गत म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।