कानुन व्यवसायीकाे विरोधपछि गल्याे सरकार, अन्त्य त परिचयपत्रकै आधारमा सिंहदरबार प्रवेश अनुमति
काठमाडौं, २७ चैत्र । गेट पास अनिवार्य गर्ने निर्णयको विरोध भएपछि कानुन व्यवसायीहरूलाई पुनः परिचयपत्रकै आधारमा सिंहदरबार प्रवेश गर्न दिइने भएको छ ।
गत आइतबारदेखि सुरक्षा निकायले कानुन व्यवसायीहरूलाई सिंहदरबार प्रवेश गर्न ‘गेट पास’ लिनुपर्ने अनिवार्य व्यवस्था गरेको थियो । यसअघि आफ्नो परिचयपत्र देखाएर निर्वाध रूपमा सिंहदरबार प्रवेश गर्दै आएका कानुन व्यवसायी र नेपाल बार एसोसिएसनले उक्त नयाँ नियमको कडा विरोध जनाएका थिए ।
चौतर्फी विरोधपछि सुरक्षा निकायले पुनः परिचयपत्रबाटै प्रवेश अनुमति दिएको नेपाल बार एसोसिएसनका महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिनुभयो । “सुरक्षा निकायले हामीलाई फेरि परिचयपत्रकै आधारमा प्रवेश गर्न मिल्ने जानकारी गराएको छ,” महासचिव कोइरालाले भन्नुभयो ।
यद्यपि, सरकारले सिंहदरबार प्रवेशलाई व्यवस्थित गर्न नयाँ मापदण्ड बनाउने तयारी गरिरहेको उहाँले बताउनुभयो । “अहिलेलाई उहाँहरूले पुरानै व्यवस्थाअनुसार प्रवेश गर्न दिने तर छिट्टै यससम्बन्धी मापदण्ड बनाउने कुरा पनि गर्नुभएको छ,” उहाँले भन्नुभयो ।
गेट पास अनिवार्य गरेर आवागमनमा अवरोध पुर्याइएपछि नेपाल बार एसोसिएसनले प्रधानमन्त्री बालेन शाहलाई औपचारिक पत्र लेख्दै सिंहदरबार प्रवेशमा सहजीकरण गरिदिन माग गरेको थियो । सोही पहल र दबाबपछि कानुन व्यवसायीहरूका लागि पुरानै व्यवस्था लागू गरिएको हो ।