चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक प्रक्षेपण : विश्वभर सेवा विस्तार गर्ने लक्ष्य

एजेन्सी, २७ चैत्र । अन्तरिक्ष प्रविधिमा आक्रामक प्रगति गरिरहेको चीनले बिहीबार नयाँ इन्टरनेट उपग्रहहरूको समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

उत्तर चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहीबार बिहान ३ बजेर ३८ मिनेटमा उक्त प्रक्षेपण सम्पन्न गरिएको हो । चिनियाँ अधिकारीहरूका अनुसार, परिमार्जित ‘लङ मार्च–६’ वाहक रकेटमार्फत अन्तरिक्षतर्फ पठाइएका ती उपग्रहहरू सफलतापूर्वक आफ्नो निर्धारित कक्ष (अर्बिट) मा प्रवेश गरिसकेका छन् ।

यो ‘लो अर्थ अर्बिट’ (तल्लो कक्षा) मा रहने इन्टरनेट उपग्रहहरूको २१औँ समूह भएको बताइएको छ ।

दुर्गम क्षेत्रमा इन्टरनेट पुर्‍याउने लक्ष्य
यस उपग्रह समूहको मुख्य उद्देश्य विश्वभर इन्टरनेट सेवा विस्तार गर्नु रहेको छ । विशेषगरी सञ्चार सञ्जालको पहुँचभन्दा बाहिर रहेका तथा विश्वका अति दुर्गम क्षेत्रमा द्रुत गतिको इन्टरनेट सुविधा पुर्‍याउन यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसका साथै, विश्वव्यापी रूपमा डिजिटल पहुँच बढाउन र प्रविधिमा आधारित सेवाहरू विस्तार गर्न यस परियोजनाले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बिहीबारको यो प्रक्षेपण चिनियाँ ‘लङ मार्च’ शृङ्खलाका रकेटहरूको ६३७औँ उडान अभियान हो ।

पछिल्ला वर्षहरूमा चीनले अन्तरिक्ष अनुसन्धान, उपग्रह प्रक्षेपण र विश्वव्यापी सञ्चार सञ्जाल विस्तारमा अर्बौं डलर लगानीसहित तीव्र रूपमा काम गरिरहेको छ । यस सफल प्रक्षेपणले चीनको अन्तरिक्ष क्षमतालाई थप सुदृढ बनाउनुका साथै विश्वव्यापी इन्टरनेट बजारमा उसको बलियो उपस्थिति र प्रभाव विस्तार गर्ने विश्लेषण गरिएको छ ।