गौशालाको गेष्ट हाउसमा प्रहरीको छापा: ३० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौँ, २७ चैत । प्रहरीले काठमाडौँको गौशालास्थित एक गेष्ट हाउसबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई ३० दशमलव ४२ ग्राम खैरो हेरोइन र ५७ हजार रुपैयाँ नगदसहति नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–२ घर भएका २६ वर्षीय माधवकुमार साह र सिन्धुलीको दुधौली नगरपालिका–४ की ३२ वर्षीया मीनाकुमारी अधिकारी रहेका छन् ।

प्रहरीले गौशाला क्षेत्रको एक गेष्ट हाउसमा लुकाइछिपाइ लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि छापा मारेको थियो । पक्राउ परेका दुवै जनालाई आजै सार्वजनिक गरिएको छ । उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।