नयाँ वर्ष २०८३ को स्वागत: नगरकोट र रानीकोटका होटल पर्यटकले खचाखच, व्यवसायी उत्साहित

भक्तपुर, १ वैशाख । नयाँ वर्ष २०८३ को आगमनसँगै वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न र हिमाली दृश्यावलोकनका लागि भक्तपुरका प्रमुख पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । नगरकोटदेखि रानीकोटसम्मका होटलहरू स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ भएपछि यस क्षेत्रका पर्यटन एवं होटल व्यवसायीहरूमा उत्साह छाएको छ ।

विगतका वर्षहरूको तुलनामा यस पटक आन्तरिक पर्यटकको चाप उल्लेख्य देखिएको छ । होटल चौतारीका सञ्चालक बद्री माकका अनुसार नगरकोटमा नयाँ वर्ष मनाउन आउनेहरूमा करिब ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत विदेशी पर्यटक रहेका छन् । “नयाँ वर्षको पहिलो सूर्योदय र हिमाल हेर्न आउनेहरूको आकर्षणले नगरकोट उत्सवमय बनेको छ,” उहाँले भन्नुभयो ।

सामान्यदेखि साततारे (सेभेन स्टार) सम्मका होटल रहेको नगरकोटमा पर्यटकको बढ्दो चापलाई मध्यनजर गर्दै व्यवसायीहरूले संरचना विस्तारमा समेत लगानी बढाएका छन् । नगरकोट बेसक्याम्पका सञ्चालक अनुप केसीका अनुसार चिसो मौसमको पर्वाह नगरी रातभर नाचगान गरेर नयाँ वर्षको स्वागत गर्ने पर्यटकका कारण थप होटलहरू खुल्ने क्रम जारी छ ।

नगरकोट नाल्दुम पर्यटन व्यवसायी समितिका अध्यक्ष नवीन लामाले ‘नगरकोट भ्रमण वर्ष २०८२’ को प्रभाव र नयाँ वर्षको उल्लासले कोभिड–१९ पछि सुस्ताएको पर्यटन क्षेत्रलाई पूर्ण रूपमा लयमा फर्काएको बताउनुभयो ।

केही वर्षयता सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नं ८ सिपाडोलको सङ्गमस्थल रानीकोट र घ्याम्पेडाँडा पनि पर्यटकको मुख्य रोजाइमा पर्न थालेका छन् । समुद्री सतहबाट २,००० मिटर उचाइमा रहेको रानीकोटबाट सगरमाथा, कञ्चनजङ्घा, अन्नपूर्ण र माछापुच्छ्रे लगायत ८,००० मिटरभन्दा अग्ला ८ वटा हिमालहरू अवलोकन गर्न सकिन्छ ।

भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले रानीकोटमा ऐतिहासिक गढी, बाघ भैरव मन्दिर र सहज सडक पहुँचका कारण आन्तरिक पर्यटकको चाप बढेको जानकारी दिनुभयो । “नयाँ वर्षका लागि मेरो होटलका सबै कोठाहरू सात दिनअघि नै बुक भइसकेका थिए,” उहाँले भन्नुभयो । ऐतिहासिक रानीकोट गढी पृथ्वीनारायण शाहको पालाको रणनीतिक महत्वको क्षेत्र मानिन्छ ।

त्यसैगरी, घ्याम्पेडाँडा रिसोर्टका सञ्चालक राजेन्द्र प्याथ र होटल मेरिगोल्डका गोकुल लामिछानेले स्वदेशी पर्यटकको आगमनले पर्यटन उद्योगमा नयाँ ऊर्जा थपेको बताउनुभयो । सहज पदयात्रा मार्ग (हाइकिङ रुट) र काठमाडौँ उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिने भएकाले पनि भक्तपुरका यी डाँडाहरूमा पर्यटकको आकर्षण बढेको हो ।

नयाँ वर्षको पहिलो दिन भक्तपुरका पर्यटकीय स्थलहरूमा देखिएको यो उत्साहले आगामी वर्ष नेपालको पर्यटन क्षेत्रका लागि सुखद रहने सङ्केत गरेको व्यवसायीहरूको ठम्याइ छ ।