सांस्कृतिक धरोहरको संरक्षणमा जोड: आज विश्व सम्पदा दिवस मनाइँदै, राजधानीमा विशेष पदयात्रा

काठमाडौँ, ५ वैशाख । सम्पदाको ऐतिहासिक महत्व उजागर गर्न र यसको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज नेपालसहित विश्वभर ‘विश्व सम्पदा दिवस’ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) को आह्वानमा सन् १९८३ देखि हरेक वर्ष अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो।

नेपालका १० वटा मुख्य सांस्कृतिक तथा प्राकृतिक स्थलहरू युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छन्। जसमा काठमाडौँ उपत्यकाभित्रका सात क्षेत्र (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भू), लुम्बिनी तथा प्राकृतिक सम्पदातर्फ चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्।

यस वर्षको दिवसका अवसरमा वाग्मती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालय मातहतको पर्यटन कार्यालयले राजधानीमा विशेष ‘सम्पदा पदयात्रा’ आयोजना गरेको छ। पर्यटन कार्यालयका प्रमुख पवनकुमार पोखरेलका अनुसार आज बिहान गहना पोखरीबाट सुरु भएको पदयात्रा भाटभटेनी मन्दिरसम्म पुग्ने कार्यक्रम तय गरिएको छ।

पदयात्रा पश्चात् ऐतिहासिक एवं पुरातात्विक महत्वको हाँडीगाउँ क्षेत्रको सांस्कृतिक विशेषता र यसको संरक्षणका विषयमा अन्तरक्रिया कार्यक्रम समेत गरिने प्रमुख पोखरेलले जानकारी दिनुभयो। उक्त कार्यक्रममा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यता रहने जनाइएको छ।

मुलुकको पहिचान र गौरवका रूपमा रहेका यस्ता अमूल्य सम्पदाहरूको संरक्षणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ। भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गर्ने र सम्पदा क्षेत्रको मौलिकता जोगाउनु अहिलेको मुख्य दायित्व रहेको सरोकारवालाहरूको भनाइ छ।