एमाले अध्यक्ष ओली २१ दिनपछि अस्पतालबाट डिस्चार्ज, घरमै आराम गर्न चिकित्सकको सुझाव

काठमाडौँ, ५ वैशाख । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २१ दिनको अस्पताल बसाईपछि आइतबार डिस्चार्ज हुनुभएको छ । मिर्गौलामा देखिएको पत्थरीको शल्यक्रिया र उपचारपश्चात् स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि उहाँ महाराजगञ्जस्थित शिक्षण अस्पतालबाट घर फर्किनुभएको हो ।

गत चैत १४ गते पक्राउ परेलगत्तै स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको थियो । अस्पतालमा रहँदा उहाँको पत्थरीसम्बन्धी सफल शल्यक्रिया गरिएको थियो ।

अस्पताल स्रोतका अनुसार अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएकाले चिकित्सकहरूको सल्लाहबमोजिम डिस्चार्ज गरिएको हो । उपचार अवधिभर विशेष निगरानीमा रहनुभएका ओलीलाई अब केही समय घरमै आराम गर्न र स्वास्थ्यको ख्याल गर्दै नियमित ‘फलोअप’ मा रहन चिकित्सकहरूले सुझाव दिएका छन् ।