आज बागमती र लुम्बिनी प्रदेशसभाको बैठक बस्दै : यस्ता छन् कार्यसूची

काठमाडाैं, ६ बैशाख । बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज (बिहीबार) बस्दैछ । बागमती प्रदेशसभाको बैठक बिहान ११ बजे र लुम्बिनी प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने गरी सम्भावित कार्यसूची तय गरिएको छ ।

बागमती प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार, आजको बैठकमा विभिन्न विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल हुनेछ । त्यसपछि ती विधेयकहरूलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने कार्यसूची रहेको छ ।

यसअघि गत चैत २५ र २६ गते बसेको प्रदेशसभा बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ र ‘प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ प्रस्तुत भई सामान्य छलफल भएको थियो ।

आज ती विधेयकहरूको सैद्धान्तिक पक्षमा छलफल गरी दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइनेछ । समितिले प्राप्त सुझावहरूलाई समेटेर छुट्टाछुट्टै प्रतिवेदन तयार पारी प्रदेशसभामा पेस गर्ने सचिव पौडेलले जानकारी दिनुभयो ।

यता, लुम्बिनी प्रदेशसभाको बैठकका लागि तीनवटा मुख्य कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकको सुरुवातमै प्रदेशसभा सदस्यहरूले विशेष समय लिएर समसामयिक विषयहरूमा आफ्नो धारणा राख्नेछन् । त्यसपछि, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकमा पेस गर्नुहुनेछ ।

त्यसैगरी, प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।