वीरगन्जको मुख्य सडक फराकिलो बनाइँदै : १२०० घरटहरा भत्काउन सुरु, पर्याप्त समय नदिएको स्थानीयको गुनासो
वीरगन्ज, ६ बैशाख । त्रिभुवन राजपथअन्तर्गत वीरगन्जको मुख्य सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा तथा संरचनाहरू बिहीबार बिहानैदेखि भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले वीरगन्जको गण्डकचोकदेखि मितेरीपुलसम्मको सडक विस्तार गर्न अतिक्रमित संरचना हटाउने अभियान थालेको हो ।
सडकको बीच भागबाट दायाँ–बायाँ २५/२५ मिटरभित्र पर्ने करिब १ हजार २०० घरटहरा डोजर लगाएर भत्काउन लागिएको सडक डिभिजन कार्यालयले जनाएको छ । बिहीबार बिहान ५ बजेदेखि करिब एक दर्जन एक्स्काभेटर (डोजर) प्रयोग गरेर धमाधम संरचना भत्काइँदै छ ।
सडक डिभिजन हेटौँडाका इन्जिनियर भोला साहले सर्वोच्च अदालतको फैसला र सङ्घीय सरकारको निर्देशनअनुसार नै अतिक्रमित संरचना हटाउन थालिएको बताउनुभयो । “मापदण्डविपरीत निर्माण गरिएका घरटहरा भत्काउन हामीले पटक–पटक सार्वजनिक सूचना जारी गरेका थियौँ, तर स्थानीयले अटेर गरेपछि बाध्य भएर एक्स्काभेटर लगाउनुपरेको हो,” उहाँले भन्नुभयो, “यस कदमले वीरगन्जको मुख्य सडक विस्तारमा लामो समयदेखि देखिएको अवरोध हट्नेछ ।”
यसैबीच, वीरगन्जको मुख्य सडक क्षेत्रका घरधनी तथा व्यापारीहरूले भने स्थानीय प्रशासनले घर खाली गर्न १२ घण्टाभन्दा छोटो समय दिएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन् ।
घण्टाघर क्षेत्रका घरधनी कन्हैयालाल केशरीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने विषयमा आफूहरूको कुनै विरोध नभए पनि प्रशासनले सामान सार्न पर्याप्त समय नदिएर अन्याय गरेको गुनासो गर्नुभयो । “घर तथा पसल खाली गर्न कम्तीमा एक साताको समय दिएको भए हामी आफैँले सुरक्षित रूपमा सरसामान हटाउने थियौँ, तर एक्कासि डोजर चलाउँदा ठूलो क्षति भयो,” उहाँले भन्नुभयो ।
जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार साँझ मात्र सूचना जारी गर्दै बिहीबार बिहान ४ः३० बजेभित्र सडक अतिक्रमण गरी बनाइएका घरटहरा र सरसामान आफैँ हटाउन निर्देशन दिएको थियो ।
संरचना भत्काउने क्रममा हुनसक्ने सम्भावित विरोधलाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुसालको नेतृत्वमा बाक्लो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ । कडा सुरक्षा घेराभित्र अतिक्रमण हटाउने कार्य भइरहेको छ ।
बिहानैदेखि मुख्य सडक खण्डमा संरचना भत्काउने कार्य सुरु गरिएका कारण त्यस क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक विस्तार अभियान सम्पन्न नहुन्जेलसम्म यस क्षेत्रको ट्राफिक व्यवस्थापनसमेत प्रभावित हुने जनाइएको छ ।