उदयपुरको बेल्टारमा भीषण आगलागी: सुतिरहेकै अवस्थामा बाबु–छोराको जलेर मृत्यु

उदयपुर, ८ वैशाख । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टारस्थित शान्ति चोकमा मंगलबार बिहान भएको भीषण आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । सुतिरहेको अवस्थामा घरमा आगो सल्किएपछि जलेर बाबु–छोराको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका छन् । आगलागीमा परी अस्मिता खड्का घाइते हुनुभएको छ । उहाँको हाल नगर अस्पताल बेल्टारमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब २:४५ बजे लक्ष्मीनारायणको घरबाट अचानक आगलागी सुरु भएको थियो । घरका सदस्यहरू निद्रामा रहेकै बेला सल्किएको आगोले केही बेरमै उग्र रूप लिएको थियो । आगलागीबाट लक्ष्मीनारायणको घरसहित छिमेकी रबिन कुमार दास र सकलदेवको घर समेत जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन चापागाईंका अनुसार त्रियुगा र चौदण्डिगढी नगरपालिकाका दमकल, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको झण्डै तीन घण्टाको अथक प्रयासपछि मंगलबार बिहान आगो नियन्त्रणमा लिइएको थियो ।