मोरङमा हवाई फायर गरी करिब आधा किलो खैरो हेरोइनसहित लागुऔषध कारोबारी पक्राउ

विराटनगर, ८ बैशाख । मोरङको रतुवामाई नगरपालिकामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । रतुवामाई–१ स्थित हटिया क्षेत्रमा प्रहरी टोलीले दुई राउन्ड हवाई फायर गर्दै खैरो हेरोइन कारोबारमा संलग्न एक युवकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–१, सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कट्वालका अनुसार, भारतबाट ठूलो परिमाणमा लागुऔषध नेपालतर्फ भित्रिँदै गरेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिजुवाबाट टोली खटिएको थियो । भारतीय नम्बर प्लेट ‘बीआर ३८ एडी ५३९०’ नम्बरको मोटरसाइकलमा सवार मियाँले प्रहरी टोलीलाई देख्नासाथ भाग्ने प्रयास गरेका थिए । उनलाई रोक्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो ।

प्रहरीले मियाँको साथबाट ५ वटा पोकामा लुकाइराखेको अवस्थामा जम्मा ४७५.८२० ग्राम (करिब आधा किलो) खैरो हेरोइन बरामद गरेको छ ।

पक्राउ परेका मियाँ र बरामद मोटरसाइकललाई इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।