कञ्चनपुरमा बिहेभोजमा विवाद हुँदा चक्कु प्रहार गरी १८ वर्षीय युवकको हत्या, दुई पक्राउ
कञ्चनपुर, ८ बैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिकामा विवाह समारोहमा गएका एक युवकको चक्कु प्रहार गरी हत्या गरिएको छ ।
पुनर्वास नगरपालिका–५, भानुबस्तीमा शुक्रबार राति आफन्तको बिहेमा सहभागी हुन पुगेका सोही ठाउँका १८ वर्षीय उज्ज्वल सायरको छातीमा चक्कु प्रहार गरी हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, बिहेभोज चलिरहँदा स्थानीय युवाहरूबीच आपसी विवाद भएको थियो । विवादकै क्रममा सायरमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा राति करिब २ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टङ्क थापा रहेका छन् ।
पक्राउ परेका दुवै आरोपितलाई हाल इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ । घटनाको कारण र संलग्नताका विषयमा थप विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।