अमेरिका–इरान युद्धविराम सङ्कटमा : वार्ता अनिश्चित, दुवै पक्षबाट आक्रमणको चेतावनी
एजेन्सी, ८ बैशाख । अमेरिका र इरानबीचको अस्थायी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै पक्षले एकअर्कालाई चेतावनी दिँदै युद्धका लागि तयार रहेको बताएका छन् ।
अवरुद्ध शान्ति वार्ताको दोस्रो चरण अघि बढाउन कूटनीतिक प्रयासहरू पुनः पाकिस्तानको इस्लामावादमा केन्द्रित हुने सङ्केत देखिए पनि इरानले त्यसमा सहभागी हुने वा नहुने विषयमा मौनता साँधेपछि स्थिति थप जटिल बनेको छ ।
ह्वाइट हाउसले अमेरिकी उपराष्ट्रपति जेडी भान्स दोस्रो चरणको वार्ताका लागि इस्लामावाद जाने तयारीमा रहेको जनाएको छ । तर, इरानले अमेरिकी कदमप्रति कडा असन्तुष्टि जनाउँदै वार्तामा सहभागी हुनेबारे कुनै निर्णय दिएको छैन ।
इरानले आफ्ना बन्दरगाहहरूमा अमेरिकाले लगाएको नाकाबन्दी र एउटा जहाज नियन्त्रणमा लिएको घटनालाई ‘युद्धविरामको ठाडो उल्लङ्घन’ भनेको छ । इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकाले वार्तालाई दबाबको हतियार बनाउन खोजेको भन्दै धम्कीपूर्ण वातावरणमा वार्ता स्वीकार्य नहुने बताउनुभयो ।
इरानको शक्तिशाली सेना ‘रिभोलुसनरी गार्ड्स’ ले पनि ‘स्ट्रेट अफ होर्मुज’ (होर्मुज जलडमरूमध्य) बाट विनाअनुमति पार गर्ने कुनै पनि जहाजलाई निशाना बनाउने चेतावनी दिएको छ ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले नै जलमार्गमा जहाजहरूलाई अवरोध गरेर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने होर्मुज जलमार्ग इरानले अवरुद्ध गरेको उहाँको भनाइ छ ।
राष्ट्रपति ट्रम्पले इरानमाथिको नाकाबन्दीले उसलाई कमजोर बनाइरहेको दाबी गर्दै समझदारी नभएसम्म दबाब जारी रहने सङ्केत दिनुभयो । युद्धविरामको समयसीमा सकिनै लाग्दा ट्रम्पले इरान वार्तामा आउनुपर्ने सर्त राख्दै भन्नुभयो, “यदि इरान वार्तामा आएन र युद्धविराम समाप्त भयो भने ठूलो स्तरको आक्रमण सुरु हुन सक्छ ।” उहाँले युद्धविरामको म्याद थपिने सम्भावना न्यून रहेको पनि स्पष्ट पार्नुभयो ।
अमेरिका–इरान वार्ताको अर्को मुख्य विवादित विषय इरानको समृद्ध युरेनियम भण्डार हो । ट्रम्पले इरान उक्त भण्डार हस्तान्तरण गर्न सहमत भएको दाबी गर्नुभएको थियो । तर, इरानी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी दाबीलाई ठाडै अस्वीकार गर्दै युरेनियम कतै पनि हस्तान्तरण नगरिने र यो विषय वार्ताको विकल्पका रूपमा कहिल्यै नउठाइएको स्पष्ट पार्नुभयो ।
युद्धको जोखिम कायमै रहे पनि अन्तर्राष्ट्रिय बजारमा भने तेलको मूल्य घट्दो क्रममा देखिएको छ । अमेरिका र इरानबीच सहमति भई होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने आशाले बजारमा सकारात्मक प्रभाव पारेको विश्लेषकहरू बताउँछन् ।
यसैबीच, इजरायल र लेबनान (हिज्बुल्लाह) बीच छुट्टै युद्धविराम घोषणा भइसकेको छ र वासिङ्टनमा पुनः वार्ता हुने तयारी छ । यद्यपि, दक्षिणी लेबनानमा छिटपुट हिंसा अझै जारी छ । लेबनानमा एक फ्रान्सेली शान्ति सेना (पीसकिपर) को हत्या भएको घटनाको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले कडा निन्दा गरेको छ । इजरायल र हिज्बुल्लाहको द्वन्द्वमा लेबनानमा हालसम्म हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् ।