तनहुँमा प्रहरीको ‘स्विप अप्रेसन’ : लागुऔषध नियन्त्रणका क्रममा २७ जना पक्राउ

काठमाडौँ, बैशाख ११ ।  जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष ‘स्विप अप्रेसन’का क्रममा २७ जनालाई पक्राउ गरेको छ । बिहीबारदेखि सुरु गरिएको यस विशेष अभियानअन्तर्गत लागुऔषध ओसारपसार तथा प्रयोगमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (प्रनाउ) श्रवणकुमार विकका अनुसार नियन्त्रणमा लिइएकामध्ये एक जनामाथि प्रचलित कानुनबमोजिम थप अनुसन्धान एवं कानुनी प्रक्रिया अघि बढाइएको छ । त्यस्तै, लागुऔषध प्रयोगकर्ताका रूपमा पहिचान भएका एक जनालाई परिवारको सहमति र समन्वयमा सुधार गृह पठाइएको छ ।

बाँकी व्यक्तिको हकमा प्रहरीले ‘स्क्रिनिङ’ गरी उनीहरूको पूर्ण विवरण अभिलेखीकरण गरेको छ । उनीहरूको आपराधिक पृष्ठभूमि जाँच गर्नुका साथै आवश्यक परामर्श दिएर पुनः यस्ता गतिविधिमा संलग्न नहुने सर्तमा परिवारको जिम्मा लगाउँदै हाजिरी जमानीमा छाडिएको प्रनाउ विकले जानकारी दिनुभयो ।

प्रहरीले लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै समाजलाई सुरक्षित र स्वस्थ बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरेको जनाएको छ । लागुऔषधको बढ्दो प्रयोग र अवैध ओसारपसार नियन्त्रणका लागि आगामी दिनमा पनि यस्ता निगरानी र कारबाहीका कार्यक्रमहरूलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय तनहुँले स्पष्ट पारेको छ ।