काठमाडौँको शालिनदीमा प्रहरी र लागुऔषध कारोबारीबीच गोली हानाहान, हतियारसहित दुई पक्राउ

काठमाडौँ, १३ वैशाख । काठमाडौँको शङ्खरापुर नगरपालिका–५ स्थित शालिनदी किनारमा प्रहरी र शङ्कास्पद लागुऔषध कारोबारीबीच गोली हानाहान भएको छ। प्रहरीको जवाफी कारबाहीमा एक कारोबारी घाइते भएका छन् भने हतियारसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–३ का ३५ वर्षीय जीवन जिम्बा (राम) र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का ३४ वर्षीय वीरबहादुर तामाङ रहेका छन्। उनीहरूको साथबाट प्रहरीले एक थान पेस्तोल, त्यसमा प्रयोग हुने एउटा म्याग्जिन र तीन राउन्ड गोली बरामद गरेको छ।

केन्द्रीय प्रहरीका अनुसार, शालिनदी क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा शुक्रबार लागुऔषध नियन्त्रण ब्युरोको टोली त्यहाँ पुगेको थियो। प्रहरी टोलीलाई देख्नासाथ जीवन जिम्बाले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेका थिए। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि जवाफी फायर गर्दा जिम्बा घाइते भएका हुन्।

प्रहरीको गोली लागेर घाइते भएका जिम्बालाई तत्काल नियन्त्रणमा लिई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल भर्ना गरिएको छ। हाल उनको त्यहाँ उपचार भइरहेको छ। यस घटनामा संलग्न अन्य दुई जना भने फरार भएको र उनीहरूको तीव्र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।