लालबन्दीमा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

सर्लाही, १४ वैशाख । सर्लाहीको लालबन्दीमा जङ्गली बँदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा लालबन्दी नगरपालिका–१५, पिडखोल्साका ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) रहेका छन्। जङ्गली बँदेलले खेतमा लगाएको मकैबाली नष्ट गर्न थालेपछि थिङ केही दिनदेखि रातिको समयमा मकै रुँघ्न (रेखदेख गर्न) खेतमै बस्दै आएका थिए। खेतमा आएको बँदेल धपाउने क्रममा बँदेलले उनलाई आक्रमण गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार, बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका थिङलाई उपचारका लागि लालबन्दीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। घटनाको जानकारी पाएलगत्तै मध्यराति नै घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का तयार पारेको थियो। प्रहरीले मृतकको शवलाई पोस्टमार्टम (शवपरीक्षण) का लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *