काठमाडौँमा महिलाको सिक्री लुट्ने गिरोह पक्राउ: खुकुरी र सुनसहित ५ जना सार्वजनिक
काठमाडौँ, १५ वैशाख । काठमाडौँका विभिन्न स्थानमा महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न पाँच जनालाई विभिन्न हातहतियार र सामग्रीसहित नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा नुवाकोटको ककनी निवासी २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ र २१ वर्षीय सुजन तामाङ रहेका छन् । यस्तै, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुकी १९ वर्षीया रितिका माझीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार गत चैत १२, १९ र वैशाख ६ गते भएका लुटपाटका घटनाहरूको अनुसन्धानका क्रममा यो गिरोहको संलग्नता पुष्टि भएको हो ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट लुटपाटमा प्रयोग गरिएका र लुटिएका विभिन्न सामग्रीहरू बरामद गरेको छ । बरामद सामग्रीहरूमा: १२.९० ग्राम सुन, १ थान खुकुरी, १ थान पेचकस, १ थान ठूलो रेन्ची र ८ थान सानो रेन्ची, १ थान मोबाइल रहेका छन् ।
यो गिरोहलाई काठमाडौँको तारकेश्वर नगरपालिका–४ पैँयुटारबाट पक्राउ गरिएको हो । उनीहरूमाथि थप कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।