झापाको हिमालय माविका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा: ९३ लाखभन्दा बढी बिगो दाबी

काठमाडौं, १५ वैशाख । झापाको दमक नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

विद्यालयको भवन निर्माणलगायतका कार्यमा नक्कली बिलबिजक खडा गरी सरकारी रकम हिनामिना गरेको अभियोगमा प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध मुद्दा दायर गरिएको हो। अख्तियारले उनीहरू दुवै जनाबाट ९३ लाख ८३ हजार ३०९ रुपैयाँ बिगो असुलउपर गर्न माग दाबी गरेको छ।

अख्तियारको अनुसन्धान अनुसार, आर्थिक वर्ष २०७७/७८ मा दमक नगरपालिकामार्फत भएको विद्यालयको भवन निर्माणमा उनीहरूले व्यापक अनियमितता गरेका थिए। भवनको पहिलो तलाको वास्तविक मूल्याङ्कन १ करोड ४८ लाख ५३ हजार २३५ रुपैयाँ मात्र रहेकोमा नक्कली बिल, बिजक र भरपाई बनाएर २ करोड ७ लाख ७९ हजार ९२२ रुपैयाँ भुक्तानी गरिएको पाइएको छ। यसरी वास्तविक कामभन्दा ५९ लाख २६ हजार ६८६ रुपैयाँ बढी भुक्तानी दिएर सरकारी रकमको दोहन गरिएको अख्तियारको दाबी छ।

यसका अतिरिक्त, प्रधानाध्यापक र लेखापालको आपसी मिलेमतोमा आर्थिक वर्ष २०७७/७८ देखिकै बेरुजु रकम १६ लाख ६० हजार १०१ रुपैयाँ व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको र थप १७ लाख ९६ हजार ५२१ रुपैयाँसमेत हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *