बालकुमारीमा २ अर्ब लागतमा ‘जीआईएस सबस्टेशन’ बन्ने: ४ वर्षदेखिको जग्गा विवाद सुल्झियो

काठमाडौं, १६ वैशाख । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई थप सुदृढ, भरपर्दो र दिगो बनाउन ललितपुरको बालकुमारीमा दुई अर्ब रुपैयाँ लागतमा उच्च क्षमताको ‘जीआईएस (ग्यास इन्सुलेटेड) सबस्टेशन’ निर्माण हुने भएको छ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले सबस्टेशन निर्माणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को स्वामित्वमा रहेको जग्गा नेपाल विद्युत् प्राधिकरणलाई उपयोग गर्न स्वीकृति दिएसँगै लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेको हो। जग्गा प्राप्तिको विवादका कारण यो परियोजना विगत चार वर्षदेखि अवरुद्ध थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष पहलमा जग्गा विवाद सुल्झिएको हो। सहमतिअनुसार, प्राधिकरणले केयुकेएलको नाममा रहेको ३ रोपनी १३ आना २ पैसा जग्गा आगामी २५ वर्षसम्म उपभोग गर्न पाउनेछ। यसबापत प्राधिकरणले केयुकेएलद्वारा बालकुमारीमै सञ्चालन हुने ढल प्रशोधन केन्द्रलाई आवश्यक पर्ने विद्युत् निःशुल्क उपलब्ध गराउनेछ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण हुन लागेको यस सबस्टेशनको कुल लागत करिब दुई अर्ब रुपैयाँ अनुमान गरिएको छ। जग्गा प्राप्तिको कानुनी प्रक्रिया पूरा भएसँगै अब सबस्टेशन निर्माणका लागि तत्काल बोलपत्र (टेन्डर) आह्वान गर्ने प्राधिकरणको तयारी छ।

प्राधिकरणका अनुसार, भक्तपुरको ठिमीबाट ल्याइने भूमिगत विद्युत् प्रसारण लाइनलाई बालकुमारीस्थित यस जीआईएस सबस्टेशनमा जोडिनेछ। तत्पश्चात् उक्त लाइनलाई टेकु सबस्टेशनसम्म पुर्‍याइने प्राविधिक योजना रहेको छ।

बालकुमारी सबस्टेशनको निर्माण सम्पन्न भएपछि काठमाडौं उपत्यकामा आगामी पाँच वर्षसम्म थपिने विद्युत् मागलाई सहजै सम्बोधन गर्न सकिने र बिजुली जाने (ट्रिपिङ) समस्यामा उल्लेख्य कमी आउने विश्वास लिइएको छ।