अध्यादेशविरुद्ध रणनीति बनाउन कांग्रेसले बोलाएको विपक्षी दलको बैठक सिंहदरबारमा सुरु

काठमाडौँ, १६ वैशाख । सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आह्वान गरेको विपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ।

सरकारको कदमविरुद्ध विपक्षी दलहरूको साझा धारणा र आगामी रणनीति तय गर्न कांग्रेस नेता आङ्देम्बेको पहलमा बैठक बोलाइएको हो। सरकारले उक्त अध्यादेशहरू जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा संसद्‌मा रहेका प्रमुख विपक्षी दलका नेताहरूको सहभागिता रहेको छ।

बैठकमा नेकपा (एमाले)का तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सांसद सरस्वती लामा उपस्थित छन्। यद्यपि, संसद्‌मा प्रतिनिधित्व गर्ने श्रम संस्कृति पार्टी भने आजको बैठकमा उपस्थित नभएको जनाइएको छ।

बैठकले सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गर्ने र संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा ठोस निर्णय गर्ने बताइएको छ।