वर्षासँगै काठमाडौँको वायु गुणस्तरमा सुधारः प्रदूषित सहरको सूचीमा २६औँ स्थानमा झर्‍यो

काठमाडौँ, १७ वैशाख । लामो समयको सुक्खापन र देशभर लागेको वन डढेलोका कारण उच्च बिन्दुमा पुगेको काठमाडौँ उपत्यकाको वायु प्रदूषण वर्षासँगै घटेको छ। गत साता विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा १ नम्बरमा पुगेको काठमाडौँको हावाको गुणस्तरमा अहिले उल्लेख्य सुधार आएको हो।

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) का अनुसार गत साता काठमाडौँको वायु गुणस्तर सूचकाङ्क २४७ पुगेको थियो, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्दछ। तर, पछिल्लो समय परेको पानी र चलेको हावाहुरीका कारण आज यो सूचकाङ्क घटेर ७९ मा झरेको छ। एक्यूआई मापदण्डअनुसार ५१ देखि १०० सम्मको सूचकाङ्कलाई ‘मध्यम’ मानिन्छ। हावाको गुणस्तरमा सुधार आएसँगै काठमाडौँ विश्वका प्रदूषित सहरहरूको सूचीमा पहिलो स्थानबाट २६औँ स्थानमा झरेको छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले पर्याप्त वर्षा र हावाहुरीका कारण वायुमण्डलमा जमेको धुलो र धुवाँ हटेर प्रदूषण नियन्त्रण भएको बताए।

“लामो समयसम्म वर्षा नहुँदा धुलो र धुवाँ वायुमण्डलमै थुप्रिने, वन डढेलो बढ्ने र त्यसबाट निस्किएको धुवाँ उपत्यकामा कचौरा आकारमा जम्ने भएकाले प्रदूषण उच्च भएको थियो,” महानिर्देशक सुवेदीले भने, “यसका साथै छिमेकी मुलुक भारतबाट उडेर आउने प्रदूषित हावाले पनि काठमाडौँको वायु गुणस्तरमा गम्भीर असर पार्ने गरेको छ।” उनले वायु प्रदूषणको दीर्घकालीन समाधानका लागि दिगो तथा वातावरणमैत्री विकासका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *