विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २७ लाख रुपैयाँसहित दुई पक्राउ

मोरङ, २० वैशाख । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको झन्डै २७ लाख रुपैयाँ नगदसहित एक भारतीय नागरिक र एक नेपालीसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुँडालका अनुसार शनिबार काठमाडौँ जान लागेका भारतको माल्दा जिल्ला, सुजागञ्जका ३६ वर्षीय मोहिदिल अलीको साथबाट स्रोत नखुलेको १५ लाख ९८ हजार रुपैयाँ बरामद गरिएको हो। सुरक्षा जाँचका क्रममा रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसअघि, शुक्रबार सोही विमानस्थलबाट सुनसरीको धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङलाई पनि स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ गरिएको थियो। उनी पनि काठमाडौँ जानका लागि विमानस्थल पुगेका थिए।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखेर उक्त रकमको स्रोत र उनीहरूको उद्देश्यबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *