उपल्लो मुस्ताङको उच्च लेकमा ठुलो बथानमा देखिए जङ्गली गधा ‘क्याङ’

मुस्ताङ, २१ वैशाख । नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ स्थित धालुङ र सेताराको उच्च लेक (चरन क्षेत्र) मा ठुलो सङ्ख्यामा दुर्लभ जङ्गली गधा ‘क्याङ (Kiang)’ देखा परेका छन्।

समुद्री सतहदेखि करिब पाँच हजार मिटरको उचाइमा रहेको उक्त क्षेत्रमा एकैपटक १०० भन्दा बढीको सङ्ख्यामा जङ्गली गधा चर्दै गरेको अवस्थामा भेटिएका हुन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमन्थाङ कार्यालयका प्रमुख उमेश पौडेलका अनुसार कोरला नाकाबाट फर्किने क्रममा धालुङ लेकमा १०२ वटा र नजिकैको सेतारा लेकमा १४ वटा गरी कुल ११६ वटा जङ्गली गधाको बथान चर्दै गरेको देखिएको हो।

“यसअघि क्यामेरा ट्र्यापिङ प्रविधिमार्फत यसको सङ्ख्या यकिन गर्ने प्रयास गरिएको थियो। तर, यति ठुलो सङ्ख्यामा प्रत्यक्ष रूपमा जङ्गली गधा देखिएको यो पहिलो पटक हो,” पौडेलले भने। यसअघि सन् २००४ मा गरिएको अध्ययनमा उपल्लो मुस्ताङमा ३७ वटा मात्र जङ्गली गधा भेटिएका थिए।

दुर्लभ स्तनधारी प्राणी ‘क्याङ’ को मुख्य बासस्थान ‘ट्रान्स हिमालयन’ (तिब्बती पठार र मुस्ताङ) क्षेत्र मानिन्छ। यसले मौसम र आहारका आधारमा आफ्नो बासस्थान परिवर्तन गर्ने गर्दछ।

एक्यापका अनुसार हिउँदयामका करिब आठ महिना तिब्बती पठारमा बिताउने यी गधाहरू गर्मीयाम (विशेषगरी अप्रिल, मे र जुन महिना) सुरु भएसँगै उपल्लो मुस्ताङका उच्च लेकहरूमा प्रवेश गर्छन्। अहिले उपल्लो मुस्ताङका सीमावर्ती चरन क्षेत्रमा हरियो घाँस पलाउन थालेकाले आहारको खोजी गर्दै यी गधाहरू नेपालतर्फ आएका हुन्। लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा मौसमअनुसार यस्ता गधाहरू देखिने गरेका छन्।

के हो क्याङ ?
‘क्याङ’ एसियाकै सबैभन्दा ठुलो प्रजातिको जङ्गली गधा हो। यसको शरीरको माथिल्लो भाग खैरो वा हल्का रातो र पेटको भाग सेतो रङको हुन्छ। लामा खुट्टा भएका यी प्राणीहरू छिटो कुद्न सक्ने क्षमताका हुन्छन्।

समूहमा बस्न रुचाउने, अत्यन्तै सतर्क रहने र छिटो कुद्ने यी गधाहरूको मुख्य विशेषता हो। पछिल्लो समय जलवायु परिवर्तनका कारण हुने मौसमी फेरबदल र बढ्दो मानवीय गतिविधि जङ्गली गधाको संरक्षणका लागि मुख्य चुनौती बन्दै गएको विज्ञहरू बताउँछन्।