योग शिविरका लागि जुम्ला पुगेका न्युरोसर्जनले गरे जटिल शल्यक्रिया, बिरामीको जोगियो ज्यान

जुम्ला, २२ वैशाख । योग शिविरका लागि जुम्ला पुगेका एक वरिष्ठ चिकित्सकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा एक बिरामीको टाउकोको जटिल शल्यक्रिया (न्युरोसर्जरी) गरेका छन्।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ न्युरोसर्जन डा. नीलमकुमार खड्काको नेतृत्वमा रहेको चिकित्सक टोलीले पातारासी गाउँपालिका–३, छुमगाउँका गोरबहादुर बोहराको टाउकोको सफल शल्यक्रिया गरेको हो।

गत वैशाख १८ गते आफ्नै घरको छतबाट खसेर टाउकोमा गम्भीर चोट लागेपछि बोहरालाई उपचारका लागि प्रतिष्ठानमा ल्याइएको थियो। तर, अस्पतालमा न्युरोसर्जन नहुँदा उनलाई सुविधासम्पन्न अस्पतालमा रिफर गर्ने तयारी भइरहेको थियो।

प्रतिष्ठानमा कार्यरत डा. निर्मल थापाका अनुसार, सोही समयमा गुठीचौर गाउँपालिका–५, देपालगाउँमा आयोजित एक योग शिविरमा डा. खड्का सहभागी भएको जानकारी पाएपछि बिरामीका आफन्तले उनलाई शल्यक्रिया गरिदिन आग्रह गरेका थिए।

बिरामीको गम्भीर अवस्थालाई मध्यनजर गर्दै डा. खड्काले मानवीय भावनाका साथ शल्यक्रिया गर्न सहमति जनाएका थिए। त्यसपछि आइतबार साँझ डा. खड्कासहित प्रतिष्ठानका चिकित्सकहरू डा. निर्मल थापा र डा. रमेश काफ्लेलगायतको टोलीले बोहराको टाउकोको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।

बिरामीका आफन्त गोर्खबहादुर रावतले भने, “जिल्लामै विशेषज्ञ चिकित्सकबाट निःशुल्क रूपमा शल्यक्रिया हुँदा बिरामीको ज्यान जोगिनुका साथै हाम्रो आर्थिक र समय दुवैको बचत भएको छ।” उनले डा. खड्का र प्रतिष्ठानको टोलीलाई विशेष धन्यवाद ज्ञापन गरे।

पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तह (एमबीबीएस) को पठनपाठनसमेत सुरु भइसकेको छ। प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले संस्थालाई चिकित्सा शिक्षा र उपचारको अब्बल केन्द्र बनाउने दिशामा निरन्तर काम भइरहेको जानकारी दिए।