उद्योगी शेखर गोल्छालाई म्याद थप गर्न अदालतको अस्वीकार, हिरासतमै राख्नुपर्ने कारण नदेखिएको ठहर
काठमाडौँ, २३ वैशाख । काठमाडौँ जिल्ला अदालतले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गर्न अस्वीकार गरेको छ।
जिल्ला अदालतको यो आदेशसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई हिरासतमुक्त गरी बाँकी अनुसन्धान अघि बढाउने भएको छ।
न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी भएको पक्राउ अनुमतिको म्याद नथप्ने आदेश गरेको हो।
अदालतको आदेशमा भनिएको छ, “प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन।”
यसअघि सोमबार मात्रै सर्वोच्च अदालतले धितोपत्रसम्बन्धी कसुरको अनुसन्धानमाथि प्रश्न उठाउँदै ‘धरौटी र जमानतको व्यवस्था हुँदाहुँदै किन थुनामै राखेर अनुसन्धान गर्नुपरेको हो ?’ भनी सोधेको थियो। यद्यपि, त्यतिबेला सर्वोच्चले बिमासम्बन्धी कसुरको विषयमा भने रिट निवेदनमा मागदाबी नभएको भन्दै केही बोल्न अस्वीकार गरेको थियो।
सर्वोच्च अदालतको उक्त आदेश आउनासाथ सीआईबीले गोल्छालाई धितोपत्रसम्बन्धी कसुरको साटो बिमासम्बन्धी कसुरको आरोपमा अनुसन्धान अघि बढाइएको भन्दै रिहा गर्न अस्वीकार गरेको थियो। तर, मङ्गलबार बिमासम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थप गर्न अदालत पुर्याउँदा जिल्ला अदालतले म्याद थप्न अस्वीकार गर्दै उनलाई हिरासतमुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको हो।