इन्द्रचोकको गहना पसलमा पेस्तोल ताकेर लुटपाट प्रयास गर्ने तीन जना हतियारसहित पक्राउ

काठमाडौँ, २३ वैशाख । काठमाडौँको इन्द्रचोकस्थित एक गहना पसल (ज्वेलरी) मा पेस्तोल ताकेर लुटपाटको प्रयास गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट एउटा लोडेड पेस्तोलसहित अन्य सामग्री पनि बरामद भएको छ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौँको डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुरको महालक्ष्मी नगरपालिका–६ का हरिकृष्ण महर्जन रहेका छन्। राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौँ र महर्जनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार, यस समूहले गत वैशाख १७ गते इन्द्रचोकस्थित एक गहना पसलमा पेस्तोल देखाएर लुटपाटको प्रयास गरेको थियो। तर, सो क्रममा पसलभित्र रहेकी एक महिलाले बहादुरीपूर्वक प्रतिकार गर्दै उनीहरूलाई लघारेकी थिइन्। महिलाले प्रतिकार गरेपछि लुटेराहरू भागेको उक्त घटनाको सिसिटिभी (CCTV) फुटेज सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

अनुसन्धानका क्रममा यसै समूहले विगतमा पनि काठमाडौँमा हतियार देखाएर लुटपाट गरेको तथ्य खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार, उनीहरूले गत पुस २१ गते काठमाडौँ महानगरपालिका–२५ स्थित मासं गल्लीमा रहेको एक होलसेल पसलमा लुटपाट गरेका थिए। त्यसबेला पनि पेस्तोल नै ताकेर २ तोलाको सुनको सिक्री, ४ लाख रुपैयाँ नगद, २ थान मोबाइल र पसलको सिसिक्यामेरासमेत लुटेर लगेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले एउटा चाइनिज पेस्तोल, त्यसमा लाग्ने म्यागजिन १ थान, एक राउन्ड गोली र एउटा फलामे मुड्की (नक) बरामद गरेको छ। साथै, लुटपाटको घटनामा लगाइएका कपडाहरू र प्रयोग गरिएको एउटा स्कुटर पनि नियन्त्रणमा लिइएको एसपी भट्टराईले जानकारी दिए।