हर्मुज जलघाँटीमा इरानको नयाँ नियमः अन्तर्राष्ट्रिय जहाजलाई पूर्वअनुमति अनिवार्य
एजेन्सी, २३ बैशाख । विश्व ऊर्जा आपूर्तिको सबैभन्दा संवेदनशील समुद्री मार्ग मानिने हर्मुज जलघाँटी (स्ट्रेट अफ हर्मुज) मा इरानले आफ्नो नियन्त्रण थप कडा बनाएको छ। इरानले उक्त जलमार्ग प्रयोग गर्ने सबै अन्तर्राष्ट्रिय जहाजहरूले अब अनिवार्य रूपमा पूर्वअनुमति लिनुपर्ने नयाँ ‘सार्वभौम नियम’ लागू गरेको छ।
इरानको राज्य सञ्चालित ‘प्रेस टिभी’ का अनुसार, नयाँ प्रणालीअन्तर्गत हर्मुज हुँदै यात्रा गर्न चाहने सबै पानीजहाज कम्पनीहरूले ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पीजीएसए)’ वा सम्बद्ध निकायबाट विद्युतीय निर्देशन प्राप्त गर्नुपर्नेछ। यी निर्देशनहरूमा अद्यावधिक नियम, मार्गसम्बन्धी मापदण्ड र पालना गर्नुपर्ने सर्तहरू समावेश हुनेछन्, जसको उल्लङ्घन गर्न पाइने छैन।
नयाँ प्रोटोकलअनुसार जहाजहरूले जलघाँटीमा प्रवेश गर्नुअघि ‘ट्रान्जिट अनुमति’ लिनुपर्नेछ। इरानी सञ्चारमाध्यमले यसलाई आफ्नो अधिकार क्षेत्रभित्र लागू गरिएको ‘सार्वभौम शासन प्रणाली’ का रूपमा व्याख्या गर्दै रणनीतिक समुद्री मार्गमाथिको नियन्त्रण अझ सुदृढ बनाउने लक्ष्य रहेको जनाएका छन्।
यो कदम इरानको संसद्का अध्यक्ष मोहम्मद बागेर गालिबाफले हालै जलमार्ग नियन्त्रणसम्बन्धी ‘नयाँ समीकरण’ लागू भइरहेको भनी गरेको घोषणापछि चालिएको हो। उनले संयुक्त राज्य अमेरिका र उसका सहयोगी राष्ट्रहरूले नाकाबन्दीमार्फत ऊर्जा ढुवानीको सुरक्षामा खतरा सिर्जना गरेको आरोप लगाएका थिए। गालिबाफले इरानले अझै पूर्ण रूपमा आफ्नो कदम सुरु नगरेकै अवस्थामा पनि वासिङ्टन दबाबमा परिसकेको दाबी गरेका छन्।
‘तोकिएको मार्ग बाहिर गए सैन्य कारबाही’
यसैबीच, इरानको शक्तिशाली सुरक्षा निकाय ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)’ को नौसेनाले सबै जहाजहरूलाई नयाँ चेतावनी जारी गरेको छ। आईआरजीसीले तोकिएको समुद्री मार्ग (कोरिडोर) को कडाइका साथ पालना गर्न निर्देशन दिँदै नियम उल्लङ्घन गरे वा मार्ग परिवर्तन गरेमा कडा सैन्य कारबाही हुन सक्ने चेतावनी दिएको छ।
राज्य मिडियामार्फत जारी सन्देशमा आईआरजीसीले भनेको छ, “हर्मुज पार गर्ने जहाजहरूका लागि इरानले निर्दिष्ट गरेको कोरिडोर नै एक मात्र सुरक्षित मार्ग हो। यस मार्गभन्दा बाहिर जाने कुनै पनि प्रयास असुरक्षित हुनेछ र त्यसको परिणामस्वरूप निर्णायक सैन्य हस्तक्षेप गरिनेछ।”
यी घटनाक्रम अमेरिकी रक्षामन्त्री पीट हेग्सेथको पछिल्लो टिप्पणीसँगै थप बढेको क्षेत्रीय तनावको पृष्ठभूमिमा आएका हुन्। हेग्सेथले व्यावसायिक जहाजहरूको सुरक्षाका लागि अमेरिकी प्रयासहरू यस क्षेत्रमा भइरहेका अन्य सैन्य गतिविधिभन्दा फरक रहेको बताएका थिए।
गत फेब्रुअरीको अन्त्यदेखि नै इरानले समुद्री आवागमन नियन्त्रणमा कडाइ गर्दै आएको छ। विश्वको तरलीकृत प्राकृतिक ग्यास र करिब २० प्रतिशत कच्चा तेल ढुवानी हुने हर्मुज जलघाँटीमा इरानको यस नयाँ कदमले अवरोध उत्पन्न भई विश्वव्यापी व्यापार र ऊर्जा बजारमा ठुलो सङ्कट आउन सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेको छ।