पोखरा विमानस्थल निर्माणमा अनियमितता भएकाे ठहर, पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २४ वैशाख । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा व्यापक अनियमितता गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री कार्की, नेपाल सरकारका पूर्वसचिवहरूसहित १४ जनालाई विपक्षी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

विमानस्थल निर्माणको ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत निर्माण कम्पनी (ठेकेदार) लाई गैरकानुनी रूपमा राजस्व छुट दिएर राज्यको ढुकुटीमा नोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ। सम्झौताको सर्तविपरीत गएर ठेकेदारलाई आर्थिक लाभ पुग्ने गरी निर्णय गरिएको दाबीसहित आयोगले मुद्दा दायर गरेको हो।

अख्तियारले दायर गरेको आरोपपत्रमा राजनीतिक नेतृत्व मात्र नभई उच्च पदस्थ कर्मचारीहरूलाई समेत विपक्षी बनाइएको छ। पूर्वअर्थमन्त्री कार्कीका साथै पूर्वसचिवहरू शङ्कर अधिकारी, केवल भण्डारी र सुरेश आचार्यलगायत विरुद्ध बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत र निर्माण प्रक्रियालाई लिएर लामो समयदेखि महालेखा परीक्षकको प्रतिवेदन र सार्वजनिक स्तरमा समेत प्रश्न उठ्दै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *