हिमाल आरोहणमा विदेशीको बढ्दो मोह : सगरमाथा चढ्दै ४६४ आरोही
काठमाडौँ, २५ वैशाख । वसन्त ऋतुको आगमनसँगै नेपालका हिमालहरूमा स्वदेशी तथा विदेशी आरोहीहरूको चहलपहल सुरु भएको छ । नयाँ कीर्तिमान रच्ने र पुराना रेकर्ड तोड्ने लक्ष्यसहित विभिन्न देशका आरोहीहरू यतिबेला सगरमाथासहितका हिमालका आधार शिविरमा पुगिसकेका छन् ।
कोरोना महामारी र विश्वका केही भागमा जारी द्वन्द्वका बाबजुद पनि यस वर्ष नेपालमा हिमाल आरोहण गर्ने विदेशी पर्यटकको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ ।
पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका १ हजार ७२ आरोहीले अनुमति लिएका छन् । जसमा ८११ पुरुष र २६१ महिला छन् । अनुमति लिने क्रम जारी रहेकाले यो सङ्ख्या अझै बढ्न सक्ने विभागले जनाएको छ ।
यस वर्ष हिमाल आरोहण अनुमतिबाट विभागले १ अर्ब १७ करोड ५५ लाख ९ हजार २५९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसमध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै सर्वाधिक १ अर्ब १ करोड २८ लाख २३ हजार ९२५ रुपैयाँ राजस्व उठेको छ ।
सगरमाथा आरोहणका लागि मात्र ५५ देशका ४६४ जना (३६४ पुरुष र १०० महिला) ले अनुमति लिएका विभागकी निर्देशक निशा थापा राउतले जानकारी दिइन् । सगरमाथापछि ल्होत्सेका लागि १११, आमदब्लमका लागि १०४, मकालुका लागि ७२ र धौलागिरिका लागि ३० जनाले अनुमति लिएका छन् ।
यसबाट ल्होत्सेमा करिब ५ करोड, मकालुमा सवा ३ करोड र आमदब्लममा डेढ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा यस वर्ष चिनियाँ नागरिकको वर्चस्व देखिएको छ । चीनबाट मात्र १३९ जनाले आरोहण अनुमति लिएका छन् । यसपछि अमेरिकाबाट १३२, बेलायतबाट ७२, जर्मनीबाट ६९, क्यानडाबाट ३९ र जापानबाट ३५ जना आरोही रहेका छन् ।
सगरमाथा आरोहण गराउने ट्रेकिङ एजेन्सीहरूमध्ये ‘सेभेन समिट ट्रेक्स’ अग्रस्थानमा छ । सेभेन समिटका सञ्चालक मिङ्मा शेर्पाका अनुसार यस वर्ष सगरमाथा आरोहण गर्ने ४६४ जनामध्ये ८५ जना आफ्नै कम्पनीबाट मात्रै रहेका छन् ।
यता, ५ हजार ८०० देखि ६ हजार ५०० मिटरसम्मका साना हिमालमा पनि विदेशीको आकर्षण बढेको नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव राजेन्द्र लामा बताउँछन् । सङ्घले पछिल्लो सिजनमा २ हजार २५ जनालाई परमिट जारी गरी २० करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
यतिबेला सगरमाथा आधार शिविरमा आरोहीहरूको भिडभाड छ । सगरमाथा आरोहणलाई सुरक्षित बनाउन डोरी टाँग्ने र बाटो बनाउने काम धमाधम भइरहेको छ ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाका अनुसार आधार शिविरबाट आइसफल हुँदै क्याम्प–२ सम्म बाटो बनाउने काम सम्पन्न भइसकेको छ ।
क्याम्प–२ देखि चुचुरोसम्म डोरी टाँग्ने जिम्मा पाएको पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुलीले हाल क्याम्प–३ सम्म डोरी टाँगिसकिएको जानकारी दिए । “मौसम खराब भएकाले क्याम्प–३ भन्दा माथि काम गर्न केही समस्या भइरहेको छ, मौसम खुलेमा अबको ४/५ दिनभित्रै सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम सकिन्छ,” पराजुलीले भने ।
आरोही र उनीहरूका सहयोगीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै हिमालयन उद्धार सङ्घले सगरमाथा आधार शिविर र फेरिचेमा तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।
सङ्घका सिइओ गोविन्द बस्यालका अनुसार आधार शिविरमा अस्ट्रेलियाली चिकित्सक सामन्था एलिसन विल्स, नेपाली चिकित्सक पिन्स सिंहसहितको टोली खटिएको छ । त्यसैगरी फेरिचे स्वास्थ्यचौकीमा अस्ट्रेलिया, अमेरिका र नेपालका चिकित्सकहरूले सेवा दिइरहेका छन् ।
(सन् १९५३ मे २९ मा न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेयता नेपालका हिमालहरू विश्वभरका साहसिक पर्यटकको पहिलो रोजाइमा पर्दै आएका छन् ।)